भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ

  जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग आज भएको भेटमा उहाँले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गर्नुभयो ।

“प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन”, उहाँले भन्नुभयो, “अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन ।”

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो । छानबिनलाई निष्कर्षमा पु¥याउन आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिनुभएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

सो अवसरमा गृहमन्त्री श्रेष्ठलाई प्रवास समन्वय समितिले बधाई तथा शुभकामना व्यक्त गरेको थियो । भ्रष्टाचार विरोधी सरकारको कदमलाई विश्वभर रहेका नेपालीको साथ र समर्थन रहेको समितिले जनाएको छ । प्रवास समितिले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया