काठमाडौँ, २ जेठ : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्रीस्टार र आर्मीले १–१ गोलको बराबरी खेल्दै एक एक अङ्क बाँडेका छन् । खेलको ६९ औँ मिनेटमा लाकेन लिम्बूले गोल गर्दै थ्रीस्टारलाई सुरुआती अग्रता दिलाए । थ्रिस्टारको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
खेलको ८६ औँ मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै खेललााई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा टुङ्गियो । यस बराबरी खेलसँगै थ्रीस्टारले १८ खेलमा २६ अङ्क जोडेको छ । थ्रीस्टार अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै समान खेल खेलको आर्मीको २५ अङ्क भएको छ । आर्मी छैटौँ स्थानमा रहेको छ ।
यसैगरी सातदोबाटोमा आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई १–० गोल अन्तरले पराजित गरेको छ । पुलिसको जितमा मोसेस ग्याबाह तुमले निर्णायक गोल गरे । उनले खेलको ६१ औँ मिनेटमा गरेको एक गोल नै पुलिसका लागि निर्णायक गोल सावित भयो ।
यस जितसँगै पुलिस १८ खेलमा २२ अङ्क जोडेर अङ्क तालिकाको दशौँ स्थानमा उक्लेको छ । समान खेल खेलको एपिएफ २२ अङ्कसहित एघारौँ स्थानमा छ । (रासस)