काठमाडौँ, ३१ वैशाख : नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल तेक्वान्दो सङ्घले खेलकुदमन्त्री लिम्बूको सम्मानमा आज यहाँ आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा उहाँले अधिकारका लागि सबैले एकजुट भएर लड्नुपर्ने बताउँदै सत्यका लागि आफूले सधैँ साथ दिने बताउनुभयो ।सोही कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको थियो ।
खेलकुदमन्त्रीले सिर्जनालाई रु एक लाख तथा प्रशिक्षक लामालाई रु २५ हजारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो । गत २०७९ मङ्सिर २२ देखि २४ गतेसम्म साउदी अरबियाको रियादमा सम्पन्न भएको रियाद २०२२ वल्र्ड पारा तेक्वान्दो ग्रान्ड प्रिस फाइनल जी १० प्रतियोगितामा विश्व वरियतामा रहेका खेलाडीहरु पहिलो फाइटमा मेक्सिकोका खेलाडीलाई हराउँदै सेमिफाइनमा ब्राजिलका खेलाडी र फाइनलमा टर्कीका खेलाडीलाई हराउँदै सिर्जनाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
सिर्जनाले एसियाली युथ पारा खेलकुद २०२१ बहराइन र २०२२ इरानमा सम्पन्न भएको चौथो डब्लु टी प्रेसिडेन्ट्स कप एसियन रिजनमा रजत पदक जितेकी थिइन् । यसैगरी, सम्मानित लामाले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम सम्हाल्दै आउनुभएको छ । (रासस)