काठमाडौँ, ३० वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ ।
मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउनहुन अनुरोध गर्नुभएको हो ।
यही वैशाख ३१ गते मन्त्रालयले पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई नियमित खोप दिइँदै छ । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको छ ।
देशैभरका नियमित खोप चल्ने सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउन अभिभावकसित उहाँले आग्रह गर्नुभएको हो ।
मन्त्रालयले कोही पनि बालबालिका नियमित खोपबाट नछुटून् भन्नका लागि पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार १३ प्रकारका खोप दिँदैछ । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप प्रदान गरिन्छ ।