पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित

  बैशाख २३, २०८०

कास्की, २३ वैशाख : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी बागलुङ र सावित्रा भण्डारी लमजुङले जित्नुभएको छ ।

पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक÷एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नुभएको हो ।

वर्ष खेलाडी घोषित केसीलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र भण्डारीलाई प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुरस्कार प्रदान गर्नुभएको थियो । पुरुषतर्फ वर्ष खेलाडीका लागि केसीसहित आर्चरीका गङ्गाबहादुर कुँवर तनहुँ र टेनिसका प्रदीप खड्का कास्की मनोनयनमा हुनुहुन्थ्यो ।

महिलातर्फको मनोनयनमा भण्डारीले आर्चरीकी रोजिना थापा मगर बागलुङ र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर बागलुङलाई पछाडि पार्नुभएको हो । यसैगरी वर्ष उदीयमान खेलाडीको अवार्ड क्रिकेटका सुवास भण्डारीबागलुङले हात पार्नुभएको छ । भण्डारीले भलिबलमा रवि केसी बागलुङ, फुटबलका सुमित श्रेष्ठ कास्कीलाई मनोनयनमा पछि पार्दै ट्रफीसहित नगद रु ३५ हजार पुरस्कार पाउनुभयो ।

आर्चरीका किशोर कुमार गुरुङ स्याङ्जाले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्नुभएको छ । उत्कृष्ट प्रशिक्षकमा किशोरसहित लनटेनिसका निरज थापा कास्की र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा पर्नुभएको थियो ।

यसैगरी वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सागरराज तिमिल्सिनाले पाउनुभयो । तिमिल्सिना डेढ दशकदेखि पोखरमा पत्रकारितामा क्रियाशील हुनुहुन्छ । खेलकुद सङ्घसंस्था वा क्लब अवार्ड कास्की जिल्ला ह्याण्डबल सङ्घले पाएको छ । वर्ष उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले रु ३५र३५ हजारका साथ ट्रफीबाट पुरस्कृत हुनुभयो ।

यसैगरी वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिएको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

यसैगरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन हुनुभएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै ‘कीर्तिशेष’ सम्मान प्रदान गरिएको थियो ।

अवार्ड विजेतालाई मुख्यमन्त्री पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, गण्डकीका निर्वतमान मुख्यन्त्री खगराज अधिकारी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस

तपाईको प्रतिक्रिया