दोधारा चाँदनी, २० वैशाख : महेन्द्रनगर आँखा अस्पतालले आधुनिक उपकरणबाट मोतिया विन्दुको शल्यक्रियासुरु गरेको छ । गत आइतबार अस्पतालले ‘फेको मेसिन’ भित्र्याएपछि नियमित शल्यक्रिया सुरु गरेको आँखा अस्पतालका इन्चार्ज डा खगेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
“यसअघि अस्पतालसँग आफ्नै उपकरण नहुँदा हप्ताको एक दिन मात्रै शल्यक्रिया सेवा दिँदै आएको थियो ।” डा उप्रेतीले भन्नुभयो,“यहाँ दैनिक दशदेखि १५ जनासम्म मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी आउँछन् अब नियमित सेवा सुरु भएको छ ।”
यसअघि आफ्नो ‘फेको मेसिन’ नहुँदा गेटा आँखा अस्पतालबाट ल्याएर हप्ताको एक दिनमात्रै उक्त सेवा दिने गरिएको उहाँले बताउनुभयो । “मोतिया विन्दुको समस्या देखिए तुरुन्त परीक्षण गराई उपचार गरिहाल्नुपर्छ ढिलाइ भए आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ”, उहाँले भन्नुभयो, “जुनसुकै समयमा पनि शल्यक्रिया गर्न सकिन्छ ।” शल्यक्रिया गराउँदा रु दश हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ ।