गण्डकी, २० वैशाख : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रमका लागि गठित मूल आयोजक समितिसहित विभिन्न १३ उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कूल सात विधामा अवार्ड प्रदान गरिनेछ ।
यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उदीयमान खेलाडी विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी बागलुङ, आर्चरीका गङ्गाबहादुर कुँवर तनहुँ र टेनिसका प्रदीप खड्का कास्की मनोनयनमा पर्नुभएको छ ।
वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापामगर ९बागलुङ०, फुटबलकी सावित्रा भण्डारी लमजुङ र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर बागलुङ रहनुभएको छ । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।
उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी बागलुङ, फुटबलका सुमित श्रेष्ठ कास्की र क्रिकेटका सुवास भण्डारी बागलुङ रहनुभएको छ । वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ स्याङ्जा, लनटेनिसका नीरज थापा कास्की र आइटिएफ तेक्वान्दोका सुरज सुनार कास्की हुनुहुन्छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन्् ।
यस्तै यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भइसकेको छ । उहाँलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका अवार्ड विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन्् ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्युस्टन एजुकेसन, उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको थप आकर्षणका रूपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङ्जाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुति रहने मञ्चले जनाएको छ । यसैगरी भेटियो सान्नानी सोल्टी बजारमा गीतबाट थप चर्चामा आएका लोकदोहोरी गायक निश्चल दबाडीको गायन प्रस्तुति, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुति, डेमोस्ट्रेसनलगायत हुने जनाइएको छ ।