कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु

  बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : आगलागीमा परी घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ ।

काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उहाँलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिनुभयो । गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शङ्करमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो ।

अस्पतालले उहाँका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको उहाँका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिनुभयो । उहाँको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उहाँका टिम संलग्न छ । अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायतका उपचार गराइने डा पाण्डेले जानकारी दिनुभयो ।

डा भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो । भारतबाट आइतबार स्वदेश फर्किनुभएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ रहेको छ ।

तपाईको प्रतिक्रिया