महेन्द्रनगर, १९ वैशाख : खेलाडीहरुको लगन र नियमित प्रशिक्षणकै कारण केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड छात्रा कबड्डीमा सातौँ पटक सुदूरपश्चिमले स्वर्ण जितेको छ ।
सोमबार राष्ट्रपति रनिङ शिल्डको १३औँ संस्करणमा बागमती प्रदेशलाई फाइनलमा पराजित गर्दै सुदूरपश्चिमको छात्रा कबड्डीको उपाधि जितेको हो । सुदूरपश्चिम कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले सुदूरपश्चिमको छात्रा टोलीले लगातार सातौँ पटक केन्द्रस्तरीय रनिङ शिल्डमा उपाधि जितेको बताउनुभयो ।
“मुख्य कुरो त नियमित प्रशिक्षण नै हो ।” कबड्डी प्रशिक्षक भट्टले भन्नुभयो, “सुदूरपश्चिमको कबड्डीले आफूलाई विगतदेखि अहिलेसम्म अब्बल साबित गर्दै आएको छ ।” सुदूरपश्चिमको नौ सदस्यीय छात्रा कबड्डी टोलीको कप्तानी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सिर्जना सुनारले सम्हालेको प्रशिक्षक भट्टको भनाइ छ ।
केन्द्रस्तरीय रनिङ शिल्डको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कञ्चनपुरको छात्रा टोलीले उपाधि जितेको थियो । “अहिले पनि सुदूरको टोलीमा चारजना छात्रा कञ्चनपुरका थिए”, उहाँले भन्नुभयो, “छात्रतर्फ भने सुदूरपश्चिमले काश्य पदक जितेको छ ।”