सुदूरपश्चिम, १४ वैशाख : धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मधेस र लुम्बिनी टोली सेमिफाइनल प्रवेश गर्दा समूह ‘बि’ बाट बागमती प्रदेश र कोशी प्रदेशको टोली सेमिफाइनलमा पुगेको छ । मधेश प्रदेशले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलाई पराजित गरेको थियो ।
लुम्बिनीले कर्णाली र सुदूरपश्चिमलाई पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि मात्रै जित निकाल्दा कर्णाली प्रदेश भने अङ्कविहीन भयो ।
समूह ‘बि’ मा बागमती प्रदेश रन रेटका आधारमा समूह विजेता बन्दा समान अङ्क भएको कोशी प्रदेश रन रेटमा पछि पर्दै उपविजेता बनेको थियो । समान अङ्क नै रहेको गण्डकी भने रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिर पुगेको छ । तीन वटै टोलीले एकमा जित हात पार्दा एकमा हार व्यहोरेका थिए । बागमतीले गण्डकीलाई जित्दा कोशीसँग हार व्यहोरेको थियो । कोशी गण्डकी प्रदेशसँग पराजित हुँदा बागमतीसँग विजयी भएको थियो । आज स्थानीय फाप्ला क्रिकेट खेल मैदानमा भएको प्रतिस्पर्धामा जित हात पार्दै लुम्बिनी र मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
आजको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशमाथि ९० रनको जित हासिल ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २९ दशमलव दुई ओभरमा सबै विकेट क्षतिमा एक सय ७९ रन बनायो । लुम्बिनीका लागि प्रतीक भट्टराईले ३७ रन, आशिष ओलीले ३३ रन र आरिफ खानले ३१ रन बनाए ।
कर्णालीका लागि लक्की बमले चार विकेट लिँदा दीप पौडेल र विपीन शर्माले दुई÷दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्रै बनायो । कर्णालीका लागि कमल विष्टले २४ र रोशन शाहीले २२ रन बनाए । लुम्बिनीका लागि सन्तोष यादवले चार विकेट र सागर गैरेले दुई विकेट लिए ।