पाटन, १४ वैशाख : ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आज बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयानुसार नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
“बुधबार स्वास्थ्य कार्यालयमा बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले यही वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ”, प्रमुख डा सापकोटाले भन्नुभयो, “नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई जिल्लाका सबै सरकारी स्वास्थ्य संस्था र छ वटै पालिकाका ७१ वडाका खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।”
यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै बालबालिकालाई दुई दिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो । “खोप लगाउनबाट बालबालिका छुटे विभिन्न रोग फेरि फर्कन सक्छ, त्यही भएर प्रचार–प्रसार गर्ने, वडालाई चनाखो बनाउने गर्नुपर्छ”, प्रजिअ आचार्यले भन्नुभयो ।
विशेष खोप कार्यक्रमका लागि पाटन अस्पतालले दुई दिन नै विशेष बुथ राख्ने स्वास्थ्य कार्यालयका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिनुभयो । “बैठकले पूर्ण खोप कार्यक्रममा कोही छुट्न नदिन पोष्टर, व्यानर सवारी साधनमा राखेर प्रचार गर्ने व्यवस्था मिलाइएको छ, पालिकाका वार्ड स्वयंसेविकालाई प्रभावकारी ढङ्गले परिचालन गरेर पूर्ण खोप अभियान सम्पन्न गर्ने निर्णयअनुसार हामी अगाडि बढेका छौँ”, अधिकृत न्यौपानेले भन्नुभयो, “विगतमा खोप लगाउन छुटेका सबै वालबालिकालाई खोप लगाउन सबैको सहयोगको अपेक्षा राखेका छौँ, नयाँ ढङ्गले व्यवस्थित रूपमा कार्यक्रम गर्छौँ ।”
रासस