बैतडी, १३ वैशाख : बैतडीको तल्लोस्वराड क्षेत्र औलोको उच्च जोखिममा रहेको छ । जिल्लाका सबै स्थानमा औलोको जोखिम रहेको भए पनि विशेष गरेर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिका उच्च जोखिममा रहेको हो ।
सरकारले प्रत्येक दुई वर्ष वडास्तरको सूक्ष्मस्तरीकरण गरी औलो जोखिमयुक्त वडा पहिचान गर्दछ । सूक्ष्मस्तरीकरणमा मेलौली–४ र पञ्चेश्वर–६ उच्च जोखिममा रहेको देखाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले सन् २०२३ सूक्ष्मस्तरीकरण गरेका आधारमा यी दुई वडा उच्च जोखिममा देखाएको छ । लामखुट्टेको प्रजाति, जीवाणु, त्यहाँ देखिएका सङ्क्रमणको तथा सर्भेको आधारमा उच्च जोखिममा राखिएको हो ।”
यसैबीच, औलो उच्च जोखिममा रहेका वडाहरुमा रोग नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्न विषादी छर्कने अभियान सञ्चालन गरिएको छ । मेलौली–४ र पञ्चेश्वर ६ नम्बर वडामा रहेका प्रत्येक घरधुरीमा विषादी छर्किने अभियान सञ्चालन गरिएको प्रमुख भट्टले बताउनुभयो ।
‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवसका अवसरमा पारेर लामखुट्टे नष्ट अभियान सुरु भएको हो । औलो लामखुट्टेबाट सर्ने रोग भएकाले लामखुट्टे नष्ट अभियान थालिएको हो । उहाँले भन्नुभयो, “उच्च जोखिम रहेका दुवै वडाका प्रत्येक घरधुरीमा विषादी छर्किने अभियान सुरु भएको छ । यो अभियान दुई हप्तासम्म सञ्चालन हुन्छ ।”
विषादी छर्किनका लागि तालिम प्राप्त पाँचजनाको टोली परिचालन गरिएको छ । दुवै वडामा रहेका पाँचसय बढी घरधुरीमा विषादी छर्किने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसका साथै औलो रोगबाट बच्नका लागि यहाँका विभिन्न पालिकाहरुले सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् । पछिल्लो समयमा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढ्दै गएको छ । पहाडी क्षेत्रमा लामखुट्टे भित्रिएसँगै औलोका बिरामी फेला पर्न थालेका हुन् ।
औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । यसका लागि झूलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।
बैतडीका ७९ वन डढेलोको जोखिममा
गर्मीयाम सुरु भएसँगै बैतडीमा पनि वन डढेलोको जोखिम बढ्दै गएको छ । यहाँ रहेका ७९ वन डढेलोको जोखिममा समेत छन् ।
डिभिजन वन कार्यालयकाअनुसार सबैभन्दा बढी ३० पाटन सव डिभिजन वन कार्यालय अन्तर्गत वन रहेका छन् । यस्तै मालिका पाटन सव डिभिजन वन कार्यालय र हाटपाटन सव डिभिजन वन कार्यालय अन्तगतका १३÷१३ वटा वन डढेलोको जोखिममा रहेका डिभिजन वन कार्यालय प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभयो । यसका साथै मेलौली–कुलाउ सब डिभिजन वन कार्यालय अन्तर्गतका ११, सिगास सव डिभिजन वन कार्यालय अन्तर्गतका ८,रुद्रेश्वर–देउलेक सब डिभिजन वन कार्यालय अन्तर्गतका ४ वन जोखिममा रहेका हुन् ।
यसअघि डढेलो लागेका र बस्तीनजिक रहेका वन जोखिममा राखिएका हुन् । जिल्लामा हालसम्म डढेलो लागेको घटना नरहेका प्रमुख कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो,“ डढेलोको जोखिममा वन रहेका भए पनि यो वर्ष भने फाट्टफुट्टबाहेक डढेलो लागेको खबर खासै खबर आएको छैन् ।”गर्मीयाम सुरु भएसँगै मानवीय लापरबाहीका कारण डढेलोको जोखिम बढी हुने गरेको छ । प्राकृतिक र मानवीय दुवै कारणले वन डढेलो हुने गरेकोमा प्राकृतिक ५ प्रतिशत र मानवीय ९५ प्रतिशतले डढेलो हुने गरेको छ । बैतडीमा सबै प्रकारका वन डढेलो लाग्ने गरेका छन ।
घर्षने, भूइँ, सतही र छत्र डढेलोमध्य खतरनाक चाही छत्र डढेलो र यहाँ बढी मात्रामा सतही डढेलो लाग्ने गर्दछ । डढेलोबारे वन कार्यालयले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । डढेलोले जनस्वास्थ्य क्षेत्रमा सङ्कट ल्याउनुका साथै मानवीय र धनजनको क्षति पनि गर्ने भएकोले सबैले सचेत रहन आग्रह गरिएको छ । बैतडीमा विशेषगरी फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको जनाएको छ ।
रासस