राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग

  बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताउनुभयो ।

राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उहाँको भनाइ थियो । सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताउनुभयो ।

सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । सांसद एकनाथ ढकालले यहाँको राहदानीले ३७ देशको मात्र भ्रमण गर्न पाइने भएकाले कूटनीति बलियो बनाउन अनुरोध गर्नुभयो ।

सांसद ऐनबहादुर शाही ठकुरीले तिब्बत्सँग सीमा जोडिएका हुम्लाका नाका खोल्न माग गर्नुभयो । मुगुको खत्याड गाउँपालिकाबाट दुई दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने भएकाले गाउँपालिकामै इलाका प्रशासन कार्यालय खोल्न उहाँले माग गर्नुभयो । सांसद कान्तिका सैँजुवाललले कर्णाली राजमार्गलाई गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सांसद गीता बस्नेतले राष्ट्रिय जनावर गाईको संरक्षाणका लागि सात सय ५३ वटै स्थानीय तहले गौशाला बनाउन बजेट छुट्याउनुपर्ने बताउनुभयो । सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य महत्वपूर्ण विषय भए पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै सरकारी अस्पताल व्यवस्थित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

रासस

तपाईको प्रतिक्रिया