काठमाडौँ, २९ चैत : विभिन्न क्षेत्रका जानकारहरूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिले देशको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको २७औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले भाषा, साहित्य एवं संस्कृति देशको गहना भएको बताउनुभएको हो ।
कार्यक्रमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका पूर्वराजदूत प्रा डा जयराज आचार्यले नेपाली भाषा, साहित्य, कला, संस्कृतिले देशलाई बलियो बनाउने बताउनुभयो । उहाँले आदिकवि भानुभक्त आचार्य र पृथ्वीनारायण शाहको शालिक निर्माण गरेर गण्डकी क्षेत्रमा साहित्य र पर्यटनको विकास गर्नुपर्ने बताउनुभयो । “डाँडाकाँडामा भ्यूटावर निर्माण गरेर हुँदैन, चारतले अग्ला भवन निर्माण गरेर त्यसभित्र साहित्यकारको सबै पक्षलाई समेटेर म्युजियम बनाउनुपर्छ, जसले साहित्य र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
नेपालमा जन्मेर बेलायतमा बसेर प्राध्यापन तथा कानुन पेशामा सङ्लग्न प्रा डा सूर्यप्रसाद सुवेदीले लमजुङको वाङ्मयको विकासका लागि मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । विट्रेन नेपाल प्राज्ञिक परिषद्का पूर्वअध्यक्ष प्रा डा सुवेदीले लमजुङको कला, संस्कृति, भाषा, साहित्यको विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्वराज्यमन्त्री रामबहादुर गुरुङले लमजुङको कला, संस्कृतिलाई प्रतिष्ठानले राष्ट्रियस्तरसम्म लैजानुपर्ने बताउनुभयो । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लमजुङमा छरिएर रहेका साहित्यिक प्रतिभालाई प्रतिष्ठानले खोजेर लमजुङको साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले प्रतिष्ठानले लमजुङमा अन्तरस्थानीय तहस्तरीय वतृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शालिकलाई लमजुङमा निर्माण गर्न लागेको बताउनुभयो ।
सोही अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष सोमकान्त शर्मा अधिकारी, सदस्यहरु प्राडा कृष्णबहादुर थापा, कोमलनाथ सुवेदी, डा देवीप्रसाद सुवेदी, सोमनाथ घिमिरे, गोविन्दबाबु तिवारी, डा बमबहादुर थापा ‘जिताली’, प्राडा जीवन अधिकारी, सुभद्रा गुरुङ र रामबहादुर भण्डारीलाई सम्मान गरिएको थियो । विसं २०५३ चैत २९ गते स्थापना भएको प्रतिष्ठानले २७औँ वार्षिकोत्सवका अवसरमा प्रकाशन गरेको ‘म¥र्याङ्दी प्रवाह’ विमोचन गरिएको थियो । रासस