चेत राज भट्ट
स्वर्णिम वाग्लेको स्वतन्त्र पार्टी प्रवेश, उनको महत्वाकांक्षा र अवसरवाद भन्दा दलहरु सच्चिन जरुरी छ भन्ने सन्देश हुनसक्छ । कांग्रेस हुँदा स्वर्णिम वाग्ले ठीक, रास्वपा हुँदा स्वर्णिम वाग्ले बेठिक !बन्ने तर्कजस्ता तर्क निरर्थक हुन सक्छन् । घनश्याम भुसालहरुले एमाले छोड्दा बिद्रोह हुने स्वोर्णिम हरुले पार्टी छोड्दा बिद्रोह किन नहुने प्रस्न जायज र यथार्थ भबिस्यले बताउला ।
मान्नोस् नमान्नोस् रास्वपा गठन भएदेखि समाज, मिडिया, राजनैतिक दल लगायतको दिल दिमाग सो पार्टी वरिपरी मात्र घुमिरहेको छ । अझ स्वर्णिम वाग्लेले स्वतन्त्र पार्टी प्रवेश गरेदेखि त झन दिनहुजसो स्वतन्त्र पार्टीबारे समाचार, बिचार र बहस भएका भई छन् । यो तरंग यसरी नि चलिरहनेछ किनकी सयौं स्वर्णिमहरु पुराना दलमा पिल्सिएर बसिरहेछन र स्वतन्त्र पार्टीसँग समाहित हुनका लागि उचित समय पर्खेर बसिरहेका छन् ।
तसर्थ, स्वर्णिमहरुलाई अवसरवादी भनेर दुत्कार्नुको सट्टा पार्टीभित्र लोकतान्त्रिक मुल्य मान्यताको विकास गर्नोस्। जेलनेल, विरासत र हिरासतको मुल्यांकनको आधारमा चल्दै आएको परम्परागत राजनैतिक संस्कारलाई क्षमता र योग्यताका आधारमा पनि ठाँउ दिने लोकतन्त्रको विकास गरौं ।
स्वर्णिम वाग्ले जत्तिको विज्ञता, अध्ययनशीलता, अनुभव र राजनैतिक लगाव भएका व्यक्तिलाई युरोप अमेरिकामा कुनै पनि स्थापित दलले स्वागत गर्छन् अनि उमेरले उसको ऊर्जा र जाँगर नखाँदै पार्टी र देशका लागि उपयोग गर्छन् ।
बेलायतमा ऋषि शुनक योग्यताकै बलमा प्रधानमन्त्री छानिएका हुन् र स्कटल्याण्डमा सत्ताधारी दलको प्रमुख बनेका पाकिस्तानी मूलका हम्जा युसुफ पनि दक्षताकै बलमा त्यहाँ पुगेका हुन् । छिमेकी भारतमैं पनि अहिले विदेशमन्त्री बनेका एस जयशङ्कर पार्टीका लागि जेल बसेर होइन, विषयगत विज्ञताका कारण त्यहाँ पुगेका हुन्, जो समकालीन विश्वमा उत्कृष्ट विदेशमन्त्रीहरू मध्ये एक हुन् ।
लोकतन्त्रमा व्यक्तिले काम गर्ने होइन, सिस्टमले गर्ने हो र उचित व्यक्तिहरू विधायक बन्दा सिस्टम बनाउन र बसाउन सजिलो हुन्छ । पार्टीमैं कुर्नुपर्ने, नआत्तिनुपर्ने, लोभ नगर्नुपर्ने जस्ता तर्कसँग अबको पुस्ता अलमलिनु जरूरी देखिदैन। ठूलो दलबाट निर्वाचित हुँदा पार्न सकिने प्रभाव अलि ठूलै होला । तर अहिलेका ठूला दलमा युवाहरू कि त किनारमैं छन् या त शक्तिशाली पदमैं पुगेर पनि रबर-स्ट्याम्प मात्रै बनेका छन् ।
उनले रोजेको बाटोबाट सानै भए पनि ‘इम्प्याक्ट’ उनले पार्न सकून्, उनको विज्ञता नीतिनिर्माण तहमा उपयोग हुन सकोस् र दलहरूले अलिकति चेत हासिल गरून् र थप स्वर्णिमहरूले ती दलमा अवसर पाऊन् ।