कास्की, १७ चैत : पर्यटकीय सहर पोखरामा भोलिदेखि सुरु हुने एसियन कप तथा दक्षिण एसियन ट्रायथलन च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपालसहित विदेशबाट खेलाडी तथा प्राविधिक पोखरा आइपुगेका छन् ।
नेपाल ट्रायथलन सङ्घको आयोजनामा हुने च्याम्पियनसीपमा लेकसाइडमा ट्रायथलनको ‘स्प्रिन्ट’ विधामा प्रतिस्पर्धा हुनेछ । फेवा तालमा सात सय ५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र पाँच किलोमिटर दौड हुनेछ ।
पौडी फेवा तालमा गराइने छ । दौड आम्बोट–सहिद चोक, ड्यामसाईड राष्ट्र बैंक चोक हँुदै–आम्बोटमा पुगेर टुङ्गिने रुट तय गरिएको छ । महिला तथा पुरुष दुवै स्पर्धामा प्रतिस्पर्धा हुने छ । दुवाथोलनमा पाँच किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर दौडको दुवाथलन हुनेछ ।
च्याम्पियनसीपमा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, कजाकिस्तान, स्लोभाकिया, युएई, प्यालेस्टाइन, न्यूजिल्याण्ड र भारतका गरी १२ देशका ४७ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।
महिलातर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेकिस्तान, मरिसस, अल्जेरिया, भारत र नेपालका गरी आठ देशका १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । शनिबार पहिलो दिन ट्राइयाथलन र दोस्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ ।
ट्रायथलनमा महिला÷पुरुष उपाधि विजेताले मेडल, प्रमाणपत्रका साथ छ सय ३० डलर प्राप्त गर्नेछन् । यसैगरी द्वितीय हुनेले पाँच सय २५ डलर, तृतीयले चार सय २० डलर, सान्त्वनाले तीन सय १५ डलर र पाँचौँ हुनेले दुई सय १० डलरका साथ मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस