क्रिकेट खेलाडीत्रयलाई गृहनगरमा सम्मान

  चैत १६, २०७९

दोधारा चाँदनी, १६ चैत : राष्ट्रिय क्रिकेट टिमका खेलाडीत्रय दीपेन्द्रसिंह ऐरी, भीम सार्की र सन्दीप जोरालाई गृहनगर भीमदत्त नगरपालिकामा सम्मान गरिएको छ ।

आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले एक कार्यक्रमका बीच खेलाडीलाई जनही रु एक लाख ५१ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो हो । उहाँले राष्ट्रिय टोलीमा रहेर विश्वकप क्रिकेटको छनोट चरणमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै खेलाडीको प्रोत्साहनस्वरुप नगरपालिकाले सम्मान गरेको बताउनुभयो । “खेलकुदका माध्यमबाट राष्ट्रलाई महत्त्वपूर्ण योगदान पु¥याउनुभएको छ”, उहाँले भन्नुभयो, “यो हाम्रो नगरपालिकाको पनि गौरवको विषय हो ।” त्यसैगरी उहाँले विश्वकप छनोटमा पनि उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले नगरपालिकाको सहयोगले क्रिकेट खेलाडीलाई क्रिकेटप्रति थप प्रेरित हुन सहयोग पुगेको बताउनुभयो । “नगरपालिकाले गरेको सम्मानले क्रिकेट खेलाडीलाई हौसला मिलेको छ”, अध्यक्ष चन्दले भन्नुभयो, “स्थानीय र प्रदेश सरकारले खेलाडीको विकासका लागि कार्यक्रम ल्याउनुपर्छ ।”

त्यसैगरी बिहीबार नै खेलाडीलाई यहाँको लिटिल बुद्ध एकेडमीले पनि नगदसहित सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनी र व्यवस्थापन समितिका अध्यक्ष प्रेम खातीलगायतले खेलाडीलाई जनही रु २५ हजारसहित सम्मान गर्नुभयो । लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल मौनीले खेलकुदका माध्यमबाट राष्ट्रलाई महत्त्वपूर्ण योगदान गर्ने कञ्चनपुरका खेलाडीलाई विद्यालयले हौसला प्रदान गर्न सम्मान गरेको बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया