भोजपुर गोल्डकप : साविक विजेता रुपन्देहीलाई हराउँदै क्यामरुन फाइनलमा

  चैत १५, २०७९

टक्सार (भोजपुर), १५ चैत भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता रुपन्देहीलाई ०–३ गोलले हराउँदै क्याम्रुनले फाइनल यात्रा तय गरेको छ ।

निर्धारित समयमा एभिनियर फुटबल क्लब क्यामरुनका तर्फबाट तीन गोल हुँदा प्रतिस्पर्धामा रहेको गोर्खा ब्वाइज रुपन्देहीले गोल फर्काउन सकेन ।

प्रतियोगिताका लागि एभिनियर फुटबल क्लब क्यामरुनका तर्फबाट जर्सी नम्बर १३ का खेलाडी मेसीले खेलको ३४ औँ मिनेट, जर्सी नम्बर १० का खेलाडी टिम्बाले खेलको ३९ औँ मिनेट र जर्सी नम्बर ४ का खेलाडी बोयोमोले ६८ औँ मिनेटमा एक एक गोल गरी खेललाई ३–० को अवस्थामा पु¥याएका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच क्यामरुनका जर्सी नम्बर १० का खेलाडी टिम्बा भएका छन् । बिहीबार हुने फाइनल खेल अर्को सेमिफाइनलका विजेता आयोजक घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घ र एभिनियर फुटबल क्लब क्यामरुनका बीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो ।

मङ्गलबार भएको सेमिफाइनल खेलमा पेनाल्टी सुट आउटमा डाँगीहाट युथ क्लब मोरङलाई हराउँदै आयोजक घरेलु भोजपुरको टिम फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागिता रहेकोे खेल संयोजक आङपासाङ शेर्पाले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया