सिरहाद्वारा महोत्तरी पराजित

  चैत ११, २०७९

पर्सा, चैत ११ : वीरगन्जको आदर्शनगर रङ्शालामा आज सम्पन्न दोस्रो प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सिरहा गोलबजारले बिवाइसी महोत्तरीलाई पराजित गरेको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा सिरहाले महोत्तरीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको १४औँ मिनेटमा कर्नर किकको बललाई विणु आलेमगरले हेडिङमार्फत् गोल गर्दे आग्रता दिलाएका थिए भने खेलको १६औँ मिनेटमा महोत्तरीका लागि दीपेश राईले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

तर खेलको २३औँ मिनेटमा सिरहाका लागि समन थापा र ३२औँ मिनेटमा सुजन पुलामीले गोल गर्दै अग्रता फराकिलो बनाएका थिए । खेलको ६९औँ मिनेटमा विणु आलेमगरले व्यक्तिगत दोस्रो गोल गरेपछि सिरहा ४–१ गोल अन्तरले विजयी भएको थियो ।

खेलमा दुई गोल गर्ने आलेमगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा मधेस प्रदेशको आठवटै जिल्लाको टीमको सहभागिता छ । प्रतियोगिताका विजेता नगद रु दुई लाख र उपविजेतालाई रु एक लाख नगदसहित शिल्ड मेडल प्राप्त गर्ने फाउन्डेसन पर्साका अध्यक्ष महम्द सहाबुद्दिनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया