एनबीवाईसी सप्तरी ४–२ गोलअन्तरले पराजित

  चैत १०, २०७९

टक्सार, भोजपुर, चैत १० :भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आजदेखि सुरु भएको जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबीवाईसी सप्तरीलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

भोजपुरका लागि खेलको छैटौँ मिनेटमा दीपक आलेले गोल गर्दै अग्रता दिलाए भने सन्तोष तामाङले खेलको ३०औँ, ८०औँ र ८२औँ मिनेटमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरे ।

एनबीवाईसी सप्तरीका लागि खेलको ५१ औँ मिनेटमा नितेश लिम्बुले एक गोल गरे भने निश्चल मोक्तानले ८१ औँ मिनेटमा एक गोल गरेका थिए ।

करिब रु ३२ लाख ८० हजारको लागतमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले गर्नुभएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक भोजपुर नगरपालिकाले खेलका लागि रु २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका छन् । जसमा दुई बाहिरी र छ नेपाली टोली छन् । प्रतियोगितामा यूकेएफसी भारत, एभिनियर फुटवल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबीवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ र बसाहा क्लब उदयपुरको सहभागी रहेको खेल संयोजक आङपासाङ शेर्पाले बताउनुभयो ।

शनिबार हुने दोश्रो खेल यूकेएफसी भारत र डाँगीहाट युथ क्लब मोरङका बीचमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउने छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया