जुम्ला,चैत १० : जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलो हुने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताउनुभयो ।
पालिकाभित्रका महिला स्वास्थ्य स्वयंविकालाई सूचना प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको छ । स्वास्थ्य शाखा प्रमुख चौलागाईंले भन्नुभयो, “गाउँपालिकाको वडा नं १, २ र ३ का २६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई बिहीबार मोबाइल वितरण गरिएको छ ।”
गाउँपालिकाका बाँकी वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि मोबाइल वितरण गरिने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा रिपोर्टिङ गर्न तथा सूचना आदानप्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको छ ।
हेर्दा सानो काम भए पनि ग्रामीण भेगका महिलालाई स्वास्थ्य सेवासम्बन्धी कुनै जानकारी र सेवा प्रवाहमा सहज होस् भनेर पालिकाले उक्त काम गरेको अध्यक्ष चौलागाईंको भनाइ छ ।
महिला स्वास्थ्य स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा दिएकामा यहाँका महिलालाई राहत पुगेको बताउनुभयो । स्वास्थ्य स्वयंसेविका मोतीपुरा रावतले नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनका विषयमा ध्यान दिन आवश्यक रहेको जानकारी दिनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु पाँच सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको छ । सङ्घीय सरकारले बर्सेनि पोशाकसहित रु २२ हजार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।