काठमाडौँ, १० चैत : नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो ।
देशभर कूल ६६ लाख ६६ हजार नौ सय ३७ परिवार सङ्ख्या रहेको छ । आवासीय घर भने कूल ६६ लाख ६० हजार आठ सय ४१ रहेको छ । त्यसमध्ये घर तथा आवासीय इकाइको स्वामित्वमा समेत महिलाको सहभागितामा वृद्धि भएको छ । कूल ३१ दशमलव ५५ प्रतिशत परिवारमा परिवारमूली महिला रहेको छ । जुन, २०६८ को तुलनामा पाँच दशमलव ८२ प्रतिशत बढी हो ।
कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्या रहेकामा महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ जना महिला छन् ।
त्यस्तै, एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ पुरुष छन् । लैङ्गिक अनुपातमा हेर्दा कूल एक सय जना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ५९ छ । विसं २०६८ को कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहँदा त्यस्तो लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो ।
हिमाल र पहाड खाली हुँदै, तराईमा बढ्यो चाप
जनगणनाको विवरणअनुसार हिमाली तथा पहाडी क्षेत्रमा जनघनत्व क्रमशः कम हुँदै गएको पाइएको छ । तराईमा प्रतिवर्गकिलोमिटर चार सय ६० बराबरको जनघनत्व रहँदा हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्गकिलोमिटर रहेको छ । मनाङमा प्रतिवर्गकिलोमिटर तीनजना बराबरको मात्रै जनघनत्व रहेको छ । काठमाडौँ उपत्यकामा प्रतिवर्गकिलोमिटर पाँच हजार एक सय ६९ बराबरको जनघनत्व छ ।
प्राप्त विवरणअनुसार सबैभन्दा बढी जनसङ्ख्या काठमाडौँ जिल्लामा रहेको छ । यस जिल्लामा कूल २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या छ । मनाङमा कूल पाँच हजार छ सय ५८ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरीमा सबैभन्दा बढी जनसङ्ख्याको चाप परेको छ ।
यस्तै, मुस्ताङ, डोल्पा, रसुवा, हुम्लामा भने जनसङ्ख्या कम रहेको छ । तराई कूल जनसङ्ख्याको ५३ दशमलव ६१ प्रतिशत जनसङ्ख्या रहेको छ । त्यो भनेको तराई क्षेत्रमा मात्रै एक करोड ५६ लाख ३४ हजार छजनाको बसोबास रहेको छ । पहाडमा ४० दशमलव ३१ प्रतिशत अर्थात् एक करोड १७ लाख ५७ हजार छ सय २४ बराबरको बसोबास छ । हिमाली क्षेत्रमा छ दशमलव शून्य आठ प्रतिशत अर्थात् १७ लाख ७२ हजार नौ सय ४८ को बसोबास छ ।
दश वर्षपहिले तराईमा ५० दशमलव २७ प्रतिशत, पहाडमा ४३ दशमलव शून्य एक प्रतिशत र हिमाली क्षेत्रमा छ दशमलव ७३ प्रतिशत जनसङ्ख्याको बसोबास थियो । अक्सर हाल बसोबास गरिरहेका गाउँपालिका र नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै बसाबोस नगरेका व्यक्तिहरु ६८ प्रतिशत छन् । कूल जनसङ्ख्याको १० दशमलव आठ प्रतिशत व्यक्तिले यसअघि बसोबास गरेको स्थानबाट अर्को गाउँपालिका वा नगरपालिकामा बसाइँसराइ गरेका छन् । १८ दशमलव दुई प्रतिशत जनसङ्ख्या अर्को जिल्लामा र तीन दशमलव एक प्रतिशत बराबर जनसङ्ख्या भने विदेश पलायन भएको छ । कूल ९३ लाख ४१ हजार चार सय आठजनाले बसाइँसराइ गरेको पाइएको छ ।
यसअघिको बसोबास गरेको स्थानबाट बसाइँसराइ गर्नुको खास कारण भने काम रोजगारी, व्यापार–व्यवसाय, अध्ययन, तालिम, आश्रित, प्राकृतिक प्रकोप, कृषिलगायत छन् ।
परम्परागत ऊर्जामा नै आश्रित
सरकारले स्वच्छ ऊर्जाको विकास र विस्तारमा जोड दिएको भए पनि खाना पकाउनका लागि अझै पनि परम्परागत ऊर्जामा निर्धर रहने जनसङ्ख्याको हिस्सा ठूलो रहेको छ । देशका कूल परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन काठदाउरा प्रयोग गर्ने गरेका छन् । खान पकाउन एलपी ग्यासका प्रयोग गर्नेहरु ४४ दशमलव तीन प्रतिशत बराबर छन् । बिजुलीको प्रयोग गर्ने शून्य दशमलव पाँच, गुइँठा प्रयोग गर्ने दुई दशमलव नौ, बायोग्यास प्रयोग गर्ने एक दशमलव दुई, मट्टीतेल प्रयोग गर्ने शून्य दशमलव शून्य पाँच र अन्य इन्धनको प्रयोग गर्नेहरु शून्य दशमलव एक प्रतिशत बराबर छन् । दश वर्षपहिले ६४ प्रतिशतले खाना पकाउन अक्सर दाउराको प्रयोग गर्ने गरेका थिए । यसमा केही कमी आए पनि अझै परम्परागत ऊर्जामा आश्रित हुनेको सङ्ख्या आधारभन्दा बढी रहेको छ ।