काठमाडौँ, चैत ८ : चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उहाँले अभिनय गर्नुभएको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।
चलचित्र ‘आमा’ को लागि उहाँले केश मुण्डन (कपाल खौरिएको) गर्नुभएको थियो । एउटा पात्रको लागि यस्तो मेहनत गर्ने नेपाली कलाकारको सङ्ख्या न्यून छ । पात्रमा बाँचेपछि त्यसको भोगाइलाई पनि अपनाउनुपर्नेछ ।
“मैले काम गर्दा पात्रको सुख र दुःख दुवैलाई महसुस गर्ने गरेकीछु”, अभिनेत्री पन्तले भन्नुभयो, “ म विधिमार्फत पात्रमा बाँच्ने कोसिश गर्छु ।” यसै महिना अभिनेत्री पन्तको दुई चलचित्र ‘बहाव’ र ‘बुलाकी’ प्रदर्शन हुँदैछ ।
आज आयोजित पत्रकार भेटघाटमा अभिनेत्री पन्तले दुवै कलाकात्मक दृष्टिकोणले बनाइएको व्यावसायिक चलचित्र रहेको जानकारी दिनुभयो । “बहावमा प्रेमी र विद्रोहीको चरित्रमा अभिनय छ । कलात्मक शैलीमा यसको निर्माण गरिएको छ । बुलाकी भने ग्रामीण भेगको महिलाको कथा हो”, अभिनेत्री पन्तले भन्नुभयो ।
बहावको छायाङ्कनमा उहाँ सुगासँग नजिकिनु भएको छ । उहाँले भन्नुभयो, “कार्यशालादेखि नै सुगासँग भए । एक पटक मैले उसलाई निस्की भनेर पिँजडाको ढोका खोल्दा नि निस्किएन । म अन्योल भएँ र डराएँ । यही भावनालाई कलात्मक शैलीमा चलचित्र बहावमा देखाइएको छ ।” एकसाताकै अन्तरालमा उहाँको दुई चलचित्र प्रदर्शन हुँदैछन् ।
“नेपालमा प्रदर्शनको लागि कठिन नै छ जस्तो लाग्छ किनकी योजना गरिएभन्दा पनि वितरकसँगकै सल्लाहमा तय हुन्छ”, अभिनेत्री पन्तले भन्नुभयो । त्यसो त एउटै कलाकारकै दुई चलचित्र वैशाख १ मा प्रदर्शन हुँदैछ । अभिनेता दयाहाङ राई अभिनित बिहे पास र जारीसँगै प्रदर्शनमा आउँदैछ ।