महोत्तरी, चैत ७ : दिनहुँ सयौँ दर्शकको बाक्लो आउजाउ रहेको चौथो बर्दिवास महोत्सवमा महोत्तरीको गौशाला–१ का रवीन्द्र पण्डित कुमालले चक्र फनफनी घुमाएर काँचो माटोका विभिन्न भाँडा बनाएको हेर्न न्यून दर्शक वरिपरि देखिए । महोत्सवको पाँचौँ दिनसम्म पनि भाँडा खासै बिक्री भएका छैनन् ।
“बनाएको हेर्न आउँछन् । तर खरिद कमैले गर्छन्”, पण्डितले भन्नुभयो । महोत्सवको पाँचाँै दिनसम्म आफ्नो सीप खासै नबिकेको उहाँको भनाइ छ । बर्दिवासमा शुक्रबारदेखि महोत्सव सुरु भएको हो । “बाउबाजेले जीविका नै चलाएका काम भनेर चक्र घुमाएर भाँडा बनाउन सिके, तर अब यी भाँडाका दिन रहेनछन्”, उहाँले भन्नुभयो ।
महोत्सवमा पण्डितले माटाका अङ्खरा, ससाना चिया पिउने प्याला, पैसा बचत गर्ने खुत्रुके र ढकनासहितका माटाका भाँडा बिक्रीका लागि राख्नुभएको छ । महोत्सवको मेला मात्र नभएर अब जिल्लाका हाटबजारमा पनि माटाका भाँडा बिक्रीमा खास पर्व अवसर बाहेक कमै देखिन्छन् ।
एक समयमा मधेसको प्राचीन मिथिला क्षेत्रमा घर प्रयोजनमा पानी राख्ने गाग्री (घैटो, घैला), दही जमाउने छ्याँची, चामल-पिठोसहितका सर्दाम राख्न तौला र खाना पकाउने डेक्ची पनि माटाकै प्रयोग हुन्थे । समय क्रममा अन्य धातु र खासगरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि कुमालको पुख्र्यौली माटाका भाँडा बनाउने पेसा सङ्कटमा परेको हो ।
“माटाका भाँडा फुट्छन्”, बर्दिवासका राधेश्याम झा भन्नुहुन्छ, “माटाका भाँडाको महत्व थाहा नहुँदा र कम टिकाउ हुँदा सर्वसाधारणले प्रयोग गर्न छाडेका छन् ।” अनिवार्य मानिएका धार्मिक अनुष्ठान र प्रयोजनबाहेक अब यिनको प्रयोग हुन छाडेको छ ।
मिथिलामा चौरचन, दसैँ, दीपावली, छठ र सामा पर्वमा माटाका भाँडा र खेलौना अनिवार्य जस्तै मानिन्छन् । त्यसैगरी पितृकार्यमा पनि माटाका भाँडाको खोजी गरिन्छ । पर्व विशेष र अन्य खास अवसरमा दही जमाउने छ्याँची, ढकन, तौला, बत्ती बाल्ने दियौरी र सामाका खेलौना बिक्री हुने गरेका भङ्गाहा–५ भूचक्रपुरका काशीलाल पण्डित बताउनुहुन्छ ।
“खासखास पर्व र पितृ कार्यमा अझै हाम्रो सीप खोजिदैछ, तर अब यसले जीवनयापन भने हुन्न”, उहाँ भन्नुहुन्छ । उपभोक्ताले माटोका भाँडा प्रयोग गर्न छाडे झै कुमालका नयाँ पुस्ताले पनि यो पेसाले जीवन चल्दैन भनेर अरु काम रोजेपछि अब चक्र घुमाउने कार्य पातलिँदै गएको पण्डितको भनाइ छ ।
मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभ कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा भने यसको माग अझै हुने गरेको छ । महोत्सवमा स्थानीय उत्पादन र सीप प्रवद्र्धन गर्ने उद्देश्यले ‘कुमालको चक्रस्टल’ पनि राखिएको महोत्सव आयोजकमध्येको बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठ बताउनुहुन्छ ।
“नयाँ पुस्ताले चाखपूर्वक माटोको भाँडा बनाउने सीपको अवलोकन गरेका छन्”, श्रेष्ठ भन्नुहुन्छ, “यसले चर्चाको चासो पाएको छ ।” महोत्सवको यहाँका पुराना कला, सीपबारे जानकारी बढाउने उद्देश्य पनि रहेको हुँदा भर्खरै किशोर उमेरमा हिँड्दै गरेका किशोरकिशोरीले चक्र घुमाएर माटाका भाँडा बनाएको हेरेर आफ्नै परिवेशका पहिलेका सीप र चलनबारे जानकारी लिइरहेका श्रेष्ठको भनाइ छ ।
पहिले पहिले जीवन गुजाराको खास पेसा नै रहेको यो सीप अब केहीले पुख्र्यौली पहिचान कायम राख्न मात्र चलाइरहेका पाका कुमालको स्वीकारोक्ति छ । “अब वर्षभरिको गुजारा हैन, पहिचान कायम राख्न खासखास अवसरमा चक्र घुमाइने गरेको लोहारपट्टी–४ पिपराढीका रामसागर पण्डित बताउनुहुन्छ । “घर गुजाराको कुरा रहेन, तर चाडपर्वको खर्चको जोहो भने पुख्र्यौली पेसाले अझै हुँदैछ”, उहाँले भन्नुभयो ।
माटाका भाँडा बनाउने काम अब जीवन धान्ने पेसाका रुपमा टिक्न गाह्रो भए पनि हाम्रो संस्कृति, परम्पराको परिचयमा रहने महोत्सव आयोजकमध्येको अर्को संस्था लोकदोहोरी प्रतिष्ठान महोत्तरीका अध्यक्ष ज्ञान बस्नेत बताउनुहुन्छ ।