काठमाडौँ, चैत ७ : राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गर्नुभएको छ ।
मुख्य प्रशिक्षक एनेसले भोलिदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उहाँले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आधारमा खेलाडी छनोट गर्नुभएको हो ।
प्रमुख प्रशिक्षक एनेसले उक्त प्रतियोगिता खेल्न नेपाली टोली तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँको प्रशिक्षणमा नेपालले पहिलो पटक खेल्न लागेको हो । प्रशिक्षक एनेसले छोटो समयमा नै नेपाली टिम तयार गरेको भन्दै चुनौतीका साथ आफनो टोली खेल्न तयार रहेको बताउनुभयो ।
त्यस्तै नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले उक्त प्रतियोगिताका लागि छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न आफनो टोली तयार रहेको बताउनुभयो । उहाँले राष्ट्रका लागि राम्रो नतिजा ल्याउने उद्देश्यका साथ मैदानमा उत्रनेसमेत बताउनुभयो ।
छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान चेम्जोङसहित दीप कार्की र अभिषेक बराल छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् ।
त्यस्तै मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास छन् भने फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त प्रतियोगिता यही चैत ८ देखि १७ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपाल, भूटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्दा दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले दुई सय ५० डलर पाउने छन् ।
उक्त प्रतियोगिताको भोलि हुने उद्घाटन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको खेल हेर्न चाहने दर्शकका लागि सामान्य प्यारापिटतर्फ रु पाँच सय र भीभीआइपीतर्फ रु एक हजार तोकिएको एन्फाले जनाएको छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।