दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव

  चैत ०५, २०७९

देउखुरी, ५ चैत : दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बङ्गलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन् । त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ ।

बङ्गलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएको छ । तर चिकित्सक अभावले यहाँ बिबरामीले प्रभावकारीरुपमा सेवा पाउन सकेका छैनन । बङ्गलाचुली–५ की रीता नेपाली नौ महिनाकी गर्भवती हुुनुहुन्छ । उहाँ बङ्गलाचुली अस्पतालमा स्वास्थ्य जाँच गराउन जानुभयो । गर्भमा रहेको बच्चाको अवस्था बुझ्न नेपाली सो अस्पताल पुग्नुभयो । अस्पतालमा एक्सरे मेसिन भए पनि जनशक्ति अभावका कारण उक्त सुविधा लिन पाउनुभएन । अस्पतालबाट अत्यावश्यक स्वास्थ्य सेवा पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

“गाउँमै अस्पताल भए पनि उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ ।” नेपालीले भन्नुभयो । पूर्वाधार भएर पनि स्वास्थ्य सेवा पाउनका लागि सास्ती भोग्नु परेको स्थानीयवासीको गुनासो छ ।

स्थानीयस्तरमा अस्पताल सञ्चालनमा आए पछि यहाँका बासिन्दा गाउँघरमै सजिलै स्वास्थ्य सेवा पाइने भयो भन्दै दङ्ग परेका थिए । बङ्गलाचुली–४ रिभानका खिमबहादुर विक विशेषज्ञ सेवाका लागि पहल गरिनुपर्ने बताउनुहुन्छ । “अस्पताल बन्दा खुसी थियौँ, तर उपचारका लागि भने अन्यत्रै जानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

सरकारले स्थानीय तहमा अस्पतालको अवधारणा ल्याएपछि बङ्गलाचुली गाउँपालिकाको पहलमा रू १० करोडको लागतमा अस्पताल भवन निर्माण भएको हो । स्थानीय शिवराज भण्डारीलेअस्पताल बनेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।

अस्पतालमा कार्यरत सिनियर अनमी शारदा चन्दले जनशक्ति नहुँदा स्वास्थ्य चौकीकै मापदण्डअनुरुप काम गर्दै आएको बताउनुभयो । “पूर्वाधार सबै छ, तर जनशक्तिको व्यवस्थापन हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसीका अनुसार केही समय अघिसम्म डा वसन्त शाह अस्पतालमा कार्यरत रहे पनि उहाँ अध्ययनका लागि गएपछि अस्पताल चिकित्सकविहीन भएको हो । दाङका १० मध्ये १५ शय्याको अस्पताल बनेको बङ्गलाचुली पहिलो पालिका हो । बङ्गलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा २०७८ चैत ११ गते पूर्वसभामुख कृष्णबहादुर महराले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया