खोटाङ । लामो समयदेखि काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको खोटाङ दिक्तेलका सुमन राईको परिवारलाई विसं २०७२ को भूकम्प गाउँ फर्कने बाहना बन्यो । भूकम्पको धक्का व्यवसायमा पनि प¥यो । त्यसैकारण भूकम्पपछि गाउँ फर्किएका राई दम्पतीलाई फेरि काठमाडौँ पस्ने रहर जागेन ।
“होटलबाट मासिक औसतमा रू लाख आम्दानी हुन्थ्यो”, राईले भन्नुभयो, “तर भूकम्पका कारण गाउँ फर्किएपछि फेरि काठमाडौँ जान मन लागेन, बरु यतै केही गरौँ भन्ने सोच बन्यो ।” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१४ बुइपाका सुमन र श्रीमति सविताको परिवारले काठमाडौँमा नौ वर्ष बिताएपछि यतिबेला भने गाउँमै व्यावसायिक कृषिमा रमाइरहेको छ ।
“काठमाडौँ जानुको उद्देश्य छोराछोरीलाई सुविधा सम्पन्न विद्यालयमै पढाऔँ भन्ने पनि थियो, होटल पनि चलायौँ, तर भूकम्पले हामीलाई गाउँ फर्कन प्रेरित ग¥यो”, सुमन राईले भन्नुभयो । हाल यो दम्पतीले बुइपास्थित छिप्तीमा ‘यलम्बर नमुना कृषि फार्म’ दर्ता गरी कागती खेतीका साथै पशुपालनमा रमाइरहेको छ ।
करिब रू २० लाख लगानीबाट सुरु भए पनि हाल फार्ममा करिब रू एक करोड लगानी भइसकेको छ । कुल ७२ रोपनीमा कागती खेती सुरु गर्नुभएका राई दम्पतीले अहिले यसबाट आम्दानी लिन थालिसक्नुभएको छ । छिप्तीमा रहेको खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एक सय बोट कागतीका बिरुवा रोप्नुभएको छ । यस वर्षदेखि थप २५ रोपनी क्षेत्रफलमा कागतीको नयाँ विरुवा रोप्ने समेत उहाँहरुको तयारी छ । कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती उहाँहरुले सुुरु गरिसक्नुभएको छ । तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा रोप्नुभएको लिचीले उत्पादन दिन सुरु गरिसकेको छ ।
राई दम्पतीले कागती खेतीमा कामदारका रुपमा गासबासको व्यवस्थासहित मासिक रू १५ हजार तलबमा एक दम्पती राख्नुभएको छ । “निरन्तरको कामका लागि हामीसँगै एक जना दम्पती हुनुहुन्छ भने आवश्यक परेको खण्डमा थप कामदार पनि ल्याउछौँ”, सुमन राईले भन्नुभयो ।
राई दम्पतीले कागती प्रतिकेजी रू एक सय ५० देखि रू दुई सयसम्ममा बिक्री गर्दै आउनुभएको छ । “कागतीले उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार दुई सय केजी बिक्री ग¥यौँ”, सुमनले भन्नुभयो, “यसवर्ष उत्पादन अझ राम्रो छ, तर कति फलेको छ भन्ने टिपिसकेपछि मात्र थाहा हुन्छ ।”
राई दम्पतीको कागती बगानमा यतिबेला केही बोटमा फूल फुलेका छन् भने केहीमा कागती टिप्न अझै बाँकी छ । दुईजना कर्मचारी फल टिप्न, गोडमेल गर्न र पानी तथा मल हाल्नमै व्यस्त छन् । ्
दिक्तेल बहुमुखी क्याम्पसबाट आईएसम्म अध्ययन गर्नुभएका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौँमा पुग्ने गरेको छ । राई दम्पतीले कागती खेती मात्रै होइन, व्यावसायिकरुपमा राँगा, सुङ्गुर र बाख्रासमेत पाल्नुभएको छ ।
“यस वर्ष चार हजार कफीका बिरुवा रोप्ने तयारी छ”, हिमाली कफी उत्पादक किसान समूहका अध्यक्षसमेत रहनुभएका सुमनले भन्नुभयो, “छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यसवर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको छ ।”
एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव नभएकाले १५ घरधुरी आवद्ध भएको उहाँको भनाइ छ । “सबैले उत्पादन गरियो भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ । थोरै उत्पदन बाहिर पु¥याउन सकिन्न । त्यसैले सबै घर मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यसपटक निःशुल्क बिरुवा वितरण गर्ने तयारी गरेका छौँ ।”
एक छोरा र एक छोरीका बुबआमा सुमन र सविताले सन्तानलाई भने काठमाडौँमै राखेर अध्यापन गराइरहनुभएको छ । छोरी स्मारिक बीबीए अध्ययनरत छन् भने छोरा सुरनजङ राई पढाइ सकेर रोजगारीका लागि बाहिर जाने तयारीमा छन् ।
एक हजार एक सय ३७ घरधुरी रहेको बुइपाका स्थानीय लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवम् भैँसीपालन व्यवसायमा आबद्ध छन् । कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यवसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडा नं १४ का वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।