अति विपन्न समुदायलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब रु पाँच लाख सहयोग गर्नुभएको छ ।
बेलायतमा व्यवसाय गर्दै आउनुभएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस रेष्टुराँ स्थापनाको २४औँ स्थापना दिवसका अवसरमा यस अक्षयकोषमा सहयोग गर्नुभएको हो । व्यवसायी गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
बेलायतमा हालै नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको उपस्थितिमा आयोजित एक कार्यक्रममा व्यवसायी गुरुङ उक्त अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा राजदूत आचार्यले संसारका जुनसुकै देशमा रहेर व्यवसाय गरेका नेपालीहरुले आफ्नो समाजका लागि यसरी सहयोग गर्नु प्रशंसनीय कार्य हो भन्नुभयो ।
व्यवसायी गुरुङले नेपालमा धेरै क्षेत्रमा सहयोग गरेका समाचार आए पनि विपन्न समुदायका नागरिकलाई खेलकुदका क्षेत्रमा कसैको चासो नदेखेकाले विपन्न समुदाय लक्षित उक्त अक्षयकोषमा आफूले सहयोग गरेको बताउनुभयो ।
नेपालमा विसं २०७२ मा गएको भूकम्पका पीडितलाई सहयोग जुटाउन लण्डनस्थित नेपाली दूतावासले सञ्चालन गरेको सहयोग अभियानमा आर्थिक संयोजक रहनुभएका गुरुङले रु छ करोडभन्दा बढी रकम सङ्कलन गर्नुभएको थियो । यसैगरी उहाँले पोखरा रङ्गशाला स्थापनाका लागि रु ४७ लाख जम्मा गर्नुभएको थियो ।