‘उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुन्छ’

  फागुन २३, २०७९

काठमाडौँ,फागुन २३ : खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने अर्थतन्त्रका जानकार तथा यस क्षेत्रका विज्ञले जोड दिएका छन् ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञले हाल विश्वमा सतप्रतिशत आत्मनिर्भरता असम्भव रहेकाले खुला व्यापारको विकल्प नरहेको बताउनुभयो ।

नेपालले विश्व व्यापार सङ्गठनमा प्रवेश गरको दुई दशक बित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित नीति तय गरेर कार्यान्वयन गर्नुपर्ने उहाँहरूले आवश्यकता औँल्याउनुभयो ।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, बैङ्गलोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेशनल बिजिनेसका अध्यक्ष प्राध्यापक डा रघुनाथ सुब्रमण्यमले व्यापारमा खुलापनले आफैँमा अवसर ल्याउने बताउनुभयो । “यसले प्रतिस्पर्धी क्षमताको विकास र प्रविधिको प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ”, उहाँले भन्नुभयो ।

नेपालले आफ्नै स्थायीन स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “कुनै पनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ । व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धि हासिल हुनसक्छन् ।”

भारतीय सरकारका पूर्ववाणिज्य सचिव डा अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताउनुभयो ।

“कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिलेको समयमा सतप्रतिशत आत्मनिर्भर असम्भव रहेकाले खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि सम्भव छैन ।

काठमाडाँै विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र देशको उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताउनुभयो ।

नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको बताउँदै उहाँले असफलताको समीक्षा गरी उपयुक्त नीतिगत पहिचानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

“विश्वविद्यालयका रूपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौँ । अझै नयाँ युगको आवश्यकताअनुसारको जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौँ”, उहाँले भन्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकाले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

ठूला छिमेकीले इतिहासमा आफ्नो भू–राजनीतिक स्वार्थ पूरा गर्न व्यापारलाई रणनीतिक वस्तुका रूपमा उपयोग गरेकाले व्यापार विविधीकरण महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

वस्तु निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उहाँको भनाइ थियो । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित सो अन्तर्राष्ट्रिय सम्मेलन बुधबारसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया