मल्कबाङमा स्वास्थ्यचौकी भवन

  फागुन २३, २०७९

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसँगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ ।

वल्र्डवाइड मालीका भगवती जेभीले विसं २०७४ मङ्सिर २७ मा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी भ्याट बाहेक रु एक करोड ९० लाखमा स्वास्थ्यचौकी भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना महामारी, निर्माण सामग्री ढुवानीमा भएको समस्या लगायतका कारण निर्धारित समयभन्दा ढिला गरी भवन निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले जनाएको छ ।

भवन निर्माण सम्पन्न भएपछि स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष अमर छन्त्याल र स्वास्थ्यचौकी प्रमुख जगदेवी छन्त्याललाई भवन हस्तान्तरण गरिएको कार्यलयका इञ्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार, निर्माणधीन भवन परिसरमा निर्माण गर्न थालिएको खेलमैदानदेखि गएको पहिरोले स्वास्थ्यचौकी भवन जोखिममा परेपछि पक्की पर्खाल र ग्याबिन जाली लगाएर संरक्षणको काम गरिएको छ ।

अन्तिम पटक गत पुस मसान्तसम्मका लागि थप भएको समयसिमाभित्र निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेपछि कार्यालयको तर्फबाट जाँच गरिएको थियो । नवनिर्मित दुई तलाको १३ कोठे भवनमा बिरामीको उपचारका लागि शय्या, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था छ ।

 

भवनको रङगरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबार लगायतका काम सम्पन्न भएपछि नवनिर्मित भवनबाटै स्वास्थ्यचौकीको सेवा प्रवाह गर्ने तयारी गरिएको स्वास्थ्यचौकीका प्रमुख छन्त्यालले बताउनुभयो । यस स्वास्थ्य चौकीबाट करिब दुई सय ५० घरधुरीले स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् ।

वडा नं ५ को मल्कबाङसँगै मलम्पार र भेडीखाल्टाका स्थानीयवासीले यस स्वास्थ्यचौकीबाट उपचार सेवा लिने गर्छन् । भवन निर्माणले दुर्गम बस्तीको रुपमा चिनिएको मल्कबाङको स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने वडाध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया