काठमाडौँ, फागुन २१ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ ।
श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीसित युएई घरेलु मैदानमा लगातार पराजित भएको हो ।
टस जितेर पपुवा न्युगिनीले फिल्डिङ राजेको थियो । निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ९७ रन बनायो । पपुवा न्युगिनीले ९८ रनको विजय लक्ष्य २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।
पपुवा न्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५ तथा सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा युएईका वृत्य अरविन्दले २६, मुहमद वासिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए ।
योसँगै युएईले ३१ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको पाँचौँ स्थानमा कायमै छ । नेपाल लिगको छैटौँ स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ ।
पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्युगिनी लिगको पुछारमा छ । शृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।