भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभएको छ ।
आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान०ले आज यहाँ आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।” मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास दिलाउनुभयो । समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उहाँको भनाइ थियो ।
मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकका सञ्चालक डा चिन्तामणि शिवकोटीले नियमनका लागि स्थानीय तहबाट पनि प्रभावकारी भूमिका हुनुपर्ने बताउनुभयो ।