घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँ डायलासिस गराउँदै आउनुभएको छ । उहाँ मानसिक तनावमा हुनुहुन्छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थित डायलाइसिस सेवा बन्दको सूचना प्रकाशित भएपछि घिमिरे थप चिन्तित बन्नुभएको छ । उहाँले यहाँ दुई वर्षदेखि डायलासिस गराउँदै आउनुभएको थियो ।
“डायलासिस सेवा बन्द हुने खबरले चिन्तित बनाएको छ, अब कहाँ गएर उपचार गर्ने रु”, घिमिरेले भन्नुभयो, “सरकारले हाम्रो उपचारको पहल गरिदिनु पर्छ ।”
यस्तै महेन्द्रनगरबाट मिर्गौलाको डायलासिस गराउन दाङको लमही आउनु भएकी ४२ वर्षीया वसन्ता केसी उक्त सेवा बन्द हुने सुनेपछि चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “अन्यत्र भन्दा यहाँ डायलाइसिस गर्न सहज थियो, अब उपचार गर्न समस्या हुने भयो ।”
तीन वर्षदेखि यहाँ आएर डायलासिस गराउँदै आउनुभएकी प्युठानको सरुमारानी गाउँपालिका–४ सिरुबारीका ३५ वर्षीय केशव थापा पनि सेवा बन्द हुने खबरले चिन्तित हुनुहुन्छ । उपचारबापतको रकम राज्यले हालसम्म उपलब्ध नगराउँदा सेवा बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालका प्रमुख एजाज आलमले बताउनुभयो । यहाँ ५६ मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन् ।