राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको महाधिवेशन हुँदै

  फागुन ०९, २०७९

काठमाडौँ, फागुन ९ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औँ साधारणसभा धादिङको धादिङबेँसीमा हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले धादिङमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण आफ्नो कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताउनुभयो ।

धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले यसपटकको महाधिवेशन धादिङबेँसीमा गर्न लागिएको उहाँको भनाइ थियो । आठौँ महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नै कार्यक्रम रहेको छ ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, छ प्रदेशस्तरीय समिति, आजीवन सदस्य, मानार्थ सदस्य र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजारभन्दा बढीको उपस्थिति रहने अध्यक्ष बिजीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया