पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

  फागुन ०८, २०७९

जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ ।

गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन् । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो ।

निर्यात भएका चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रु २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिनुभयो ।

पर्वतबाट औषतमा रु ७० को दरले सुन्तला निर्यात भएका छन् । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडाँै, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताउनुभयो ।

जिल्लामा अहिले आठ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । सो मध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन सुरु हुनेछ । उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ ।

गत आर्थिक वर्ष ०७८÷७९ मा पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताउनुभयो ।

यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरुले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । “किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो ।” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया