रु एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण

  फागुन ०८, २०७९

म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो ।

आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरुपमा शुभारम्भ गरिएको हो । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । “बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रुपमा उद्यान बनाएका हौँ, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ”, उहाँले भन्नुभयो ।

उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

त्यसैगरी थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख आर्थिक सहयोग गर्नुभएको थियो । आइतबार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात् उद्यानमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मङ्गला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि समग्र मङ्गलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिकरुपमा महँगो पर्ने जग्गालाई आफूहरुले निःशुल्क दान गरेको जग्गादाता अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया