काठमाडौँ, ७ फागुन : जनताको क्रान्तिबाट एक सय चार वर्षे निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्रको घाम उदाएको आजको ऐतिहासिक दिन । यस दिनले देशमा प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास सुरु गर्नुका साथै जनताको अधिकार सुनिश्चित गर्ने अभियान पनि प्रारम्भ गरेको स्मरणीय छ । त्यति मात्र नभई नेपाली पत्रकारिताको विकासमा सरकारी तबरबाट समाचार समिति स्थापना भएको दिन पनि भएकाले यस दिनलाई नेपाली सञ्चार क्षेत्रले महत्वपूर्ण अवसरको रुपमा लिएको छ । प्रजातान्त्रिक शासन प्रणलीको प्रभावकारिताका लागि सञ्चारको अधिकतम प्रयोग र सूचनाको खुलापन निकै महत्वपूर्ण मानिन्छ । विसं २०१८ मा स्थापना भई नेपालका सञ्चारमाध्यमहरुलाई समाचार सेवा प्रदान गर्दै आएको राससले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गर्दैगर्दा पछिल्ला दिनमा यस तथ्यलाई आत्मसाथ गरेको छ ।
छ दशकभन्दा बढी समयदेखि अविचलित रही राज्य र जनताको पुलका रूपमा राष्ट्रिय समाचार समिति९रासस०ले निरन्तर निर्वाह गर्दै आएको भूमिकाप्रति सञ्चार क्षेत्र विदित नै छ । यसबीचमा मुलुकमा भएको थुप्रै राजनीतिक परिवर्तनका बीच तथा २०७२ को भूकम्प र करिब तीन वर्षदेखि भोगिरहेको महामारीका कठिन बखतमा पनि केही समस्या झेल्दै एवं त्रिपाल टाँगेर र सङ्क्रमणग्रस्त शरीर बोकेर जनताको सुसूचित हुने अधिकारलाई राससले एक दिन पनि नरोकिई निष्पक्षता र सन्तुलनका साथ समाचार सम्प्रषण गरिरह्यो ।
नेपाली पत्रकारिताको उन्नयन तथा सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र औपचारिक सूचना शीघ्र प्रवाह गरेर जनतालाई सुसूचित गर्नेमा राज्यको स्वामित्वमा रहेको राससले विशिष्ट भूमिका खेल्दै आएको छ । राससबाट उत्पादित समाचार समग्री नै आज देशैभरका सञ्चार माध्यमले प्रकाशन तथा प्रशारण भइरहेको छ । यो राससले कमाएको विश्वसनीयताबाट सम्भव भएको हो । त्यसैले आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने आफ्नो कर्तव्यप्रति सचेत रही आगामी दिनमा पनि राज्यका नीति, योजना एवं कार्यक्रम तथा सोच र अवधारणा सर्वसाधारणसामु प्रवाह गर्ने र तल्लो तहका जनताले भोग्नुपरेका दैनन्दिनका समस्या राज्यसामु पु¥याउन रासस अझ बढी प्रयत्नशील रहेकोे छ ।
प्रारम्भमा नेपाली समाचारबाट सुरु भएको रासस सेवा देशी विदेशी सञ्चारमाध्यम र तिनका पाठक–श्रोताको चाहना एवं रुचि तथा सञ्चार क्षेत्रको बहुआयामअनुसार हाल आलेख समाचार, अङ्ग्रेजी र अन्तरराष्ट्रिय समाचार, तस्बिर, श्रव्य र श्रव्यदृश्य सेवासम्म विस्तारित भएको छ । राससको यस अभियानमा सरकारले पनि यथाशक्य सघाइदिएर आफ्ना सेवालाई विविधीकरण गर्ने वातावरण दिइरहेको छ । राससले पछिल्लोपटक गत साउनदेखि श्रव्यदृश्य सेवा पनि सुरु गरेको छ ।