प्रतिष्ठानले देशका लागि आवश्यकपर्ने जनशक्ति उत्पादन गरेको छ : मन्त्री गिरी

  फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले देशको स्वास्थ्य क्षेत्रका लागि आवश्यकपर्ने जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालका लागि आवश्यकपर्ने जनशक्ति उत्पादन गरेर नेपालको स्वास्थ्य क्षेत्रलाई प्रतिष्ठानले गुन लगाएको बताउनुभयो ।

मन्त्री गिरीले २० वर्षको अवधिमा नेपालको विशेषज्ञ चिकित्सक उत्पादनमा प्रतिष्ठानले अग्रणी भूमिका खेलेकोसमेत उल्लेख गर्नुभयो ।

उहाँले प्रतिष्ठानलाई भविष्यमा अझ धेरै तहका शैक्षिक कार्यक्रम गरेर देशको प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्थापित हुन आग्रह गर्नुभयो ।

मन्त्रालयले वीर अस्पताललाई केन्द्रमा राखेर प्रतिष्ठानको गठन गरेको उल्लेख गर्दै उहाँले समयानुकूल दायरा पनि फराकिलो बनाउन निर्देशन दिनुभयो ।

“प्रतिष्ठानलाई मन्त्रालयले उच्च महत्वका साथ हेरेको छ । सधैँ प्राथमिकतामा राखेको छ”, मन्त्री गिरीले भन्नुभयो, “यसले सेवाको गुणस्तरमा उल्लेख्य सुधार ल्याउने मात्र होइन, स्वास्थ्य अनुसन्धान, स्वास्थ्यका जनशक्तिको उत्पादन र विविध विधाबीचको परस्पर सिकाईलाई पनि प्रोत्साहित गर्छ भन्ने मेरो ठम्याई छ ।”

तपाईको प्रतिक्रिया