चितवन,फागुन ५ : सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरुपताको खाँचो रहेको बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारणसभामा उहाँले व्यवसायीलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिनुभयो ।
व्यवसायी एकजुट हुन नसक्दा निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको बताउँदै उहाँले अहिले साना व्यवसायीमा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महासङ्घले सबै व्यवसायीलाई साना–ठूला सबैलाई समानरूपमा हेर्नुपर्छ ।”
समयमा गुणस्तरीय काम गरे राज्यले सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले व्यवसायीलाई भन्नुभयो, “गुणस्तरीय काम गर्नुहोस्, समयमा काम सक्नुहोस् र कसैसँग नझुक्नुस् ।” नेपालमा देखिएको आर्थिक समस्यालाई सन्तुलन राख्नका लागि व्यवसायी र सरकार एक ठाउँमा बसेर सङकट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “तपाईँहरू नथाक्नुहोस्, अहिले थाक्ने समय होइन ।”
कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । विश्वमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताउँदै उहाँले प्रदेश सरकारले चालु पुँजीमा ३० प्रतिशत कटौती गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजामती कर्मचारी, निर्माण व्यवसायी र सबै राजनीतिक दलले सरकारलाई सहयोग गर्नुपर्छ ।”
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । सरकारले हरेकपटक ऐन परिवर्तन गर्दा आफूखुशी गर्ने भएकाले समस्या बढ्दै गएको उहाँको भनाइ छ । कोभिड र रुस–युक्रेनको युद्वका कारण निजी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो ।
साधारणसभामा बोल्ने व्यवसायीले बैंकको ब्याजका कारण निर्माण व्यवसायी धरासायी बन्दै गएको गुनासो गरेका थिए । बैंकका कारण साना व्यवसायी ठूलो समस्यामा परेको उनीहरूको भनाइ थियो ।
सार्वजनिक खरिद ऐन संशोधन विधेयक निर्माण व्यवसायीलाई समस्या पार्नेगरी ल्याउन लागिएको उनीहरूको गुनासो छ । यसलाई निर्माण व्यवसायीबीच छलफलमा ल्याएर मात्रै सदनमा लैजान आग्रह गरेका थिए ।