यसरी लेखियो गुलाबी

  माघ २६, २०७९

काठमाडौँ, माघ २६ : चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी : एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ ।

उहाँ पारालैङ्गिक महिला देखिनुभएको छ । ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गर्नुभएको देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गर्नुभएको हो ।

“हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएकी छु । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ”, निर्देशक भट्टले भन्नुभयो, “यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।”

निर्माणसम्बन्धी सोच कोभिड–१९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म राहत वितरण गर्न जाने क्रममा नीलहिरा समाजमा पुग्दा सुनिएको कथाले आँखा रसाए ।

त्यसपछि पुराना दुई कथालाई पन्छाउँदै यसको सुरुआत गरेँ ।” उहाँले पटकथा निर्माण र अनुसन्धानमा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्था नीलहिरा समाजसँगै नीति नेपालसँग परामर्श गरेको जानकारी दिनुभयो ।

बाहिरी आवरण र भित्री कथाको भिन्नता देख्न पाइने चलचित्रको शीर्ष भूमिकामा देखिनुभएका अभिनेता हुसेनले एक वर्षसम्म पारालिङ्गी महिलालाई अवलोकन गर्नुका साथै चरित्र निर्माणका लागि क्लबदेखि सपिङ मलसम्म पछ्याउनुभयो ।

यसमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीकोसमेत अभिनय छ । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र आउँदो वर्षको वैशाखमा प्रदर्शन गर्ने तयारी छ । निर्देशक भट्टले यसअघि ‘रिङरोड’ र ‘आधापेज’जस्ता चलचित्र निर्देशन गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया