रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ ।
गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको हो ।
अल्ट्रासाउण्ड सञ्चालनका लागि प्रदेश तालिम केन्द्रले सियारी गाउँपालिकालाई छनोट गरी तालिम दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिनुभयो । मेसिन गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आज एक कार्यक्रमका बीच सियारी–४ का वडाध्यक्ष श्रीराम यादवलाई प्रदान गर्नुभयो ।
छपियामा जडान गरिएको उक्त अल्ट्रासाउण्डले पालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थामा घुम्ती सेवाका रुपमा सेवा प्रदान गर्ने स्वास्थ्य निरीक्षक ललिता पुनले जानकारी दिनुभयो ।