पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला

  माघ २५, २०७९

पोखरा १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु चार लाखमा स्थापना गरिएको प्रयोगशालामा विभिन्न सुविधा रहने बताइएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सो प्रयोगशालाको आज उद्घाटन गर्दै वृद्धाश्रमको विकासमा प्रदेश सरकार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आश्रमका ज्येष्ठ नागरिक तथा स्थानीय बासिन्दालाई स्वास्थ्य सुविधा पु¥याउने उद्देश्यले स्थापना गरिएको प्रयोगशालालाई सुविधा सम्पन्न बनाउँदै आवश्यक जनशक्ति उपलव्ध गराउने विश्वास व्यक्त गर्नुभयो । वृद्धाश्रममा समाजका गरिब, विपन्न तथा असहाय वर्गका ४८ आमाबुबा तथा आठ सेवकसेवीकासहित ५६ जना आवद्ध रहेको आश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकलाई लाग्ने अल्जाईमर रोग ‘स्क्रिनिङ टेष्ट’ कार्यक्रम सञ्चालन गर्न रु सात लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले आश्रम हातामा रहेका ज्येष्ठ नागरिकका अतिरिक्त गण्डकी प्रदेशका अल्जाईमर पीडित ज्येष्ठ नागरिकलाई पोखरा वृद्धाश्रममा ल्याएमा निःशुल्क परीक्षण गरिने तयारी भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया