‘फार्मेसी’मा छुट्टाछुट्टै ‘काउन्टर’

  माघ २५, २०७९

कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन् । अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन् । आकस्मिक बिरामीका लागि औषधि लिने काउन्टर अलग व्यवस्था गरिएको छ भने बीमा तथा सामाजिक सुरक्षाका र नगद खरिद गर्नलाई अलगअलग काउन्टरको व्यवस्था गरिएको छ ।

टीकापुर अस्पतालमा पहिलो पटक क्लिनिकल फार्मेसी अधिकृत आएपछि औषधि वितरणमा नयाँ धारणा विकास गरिएको हो । अस्पतालमा औषधि खरिदका लागि बिरामीले घण्टौँ लाइनमा बस्नुपर्ने भएपछि तीनवटा काउन्टर सञ्चालन गरिएको अस्पतालका क्लिनिकल फार्मेसी अधिकृत जनक शाहीले बताउनुभयो । “अस्पतालले औषधि व्यवस्थापनका लागि भण्डारण कक्षको व्यवस्थासमेत गरेको छ । यसले औषधि अभाव भएर बिरामीलाई पर्ने समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो, “बिरामीको सहजताका लागि फार्मेसीमा पाइने औषधिको नाम, काम, असर, मात्रा, प्रयोग गर्नुपर्ने तरिकाबारे जानकारी दिन ब्रोसर तयार गर्छौं ।”

टीकापुर अस्पतालमा कार्यरत नौ विशेषज्ञ डाक्टरले सेवा दिन थालेपछि दैनिक पाँच सयदेखि छ सयसम्म बिरामीले सेवा लिन थालेका छन् । सेवाग्राही धेरै भएपछि फार्मेसीमा बढी चाप हुने गरेको थियो । चापका कारण कतिपय निजी औषधि पसलमा जाने गरेका थिए । अस्पतालको औषधि बिक्री कक्ष व्यवस्थित नहुँदा आकस्मिक उपचारका लागि आवश्यक पर्ने औषधिका लागि बिरामीले कष्ट बेहार्नु परेको थियो । एक हप्तादेखि औषधिका लागि घण्टौँ लाइनमा कुर्नुपर्ने वाध्यता कम भएको स्थानीयको भनाइ छ । “एक हप्ताअघि र अहिले धेरै फरक छ, यतिखेर बढीमा आधा घण्टा कुर्नुपर्छ”, स्थानीय डम्बरबहादुर बटालाले भन्नुभयो, “जाँच गराउन सकस त थियो थियो औषधि खरिद गर्न पनि ठूलो समस्या थियो ।”

तपाईको प्रतिक्रिया