‘व्यापार होइन पेसाको संरक्षण गरेका छौँ’

  माघ ०५, २०७९

रेसुङ्गा,माघ ५ : समाज आधुनिकतातर्फ गएसँगै पछिल्लो समय परम्परागत सामग्री र सीपको लोप हुन थालेको छ । घरायसी प्रयोजनका लागि बढ्दो मेसिनबाट बन्ने प्लाष्टिकजन्य सामग्रीका कारण पुराना शैलीका सामग्री र सीप विस्तारै कम देखिन थालेका हुन् ।

तर आधुनिक समाजको यहीँ भीडमा परम्परागत सामग्री र सीपको संरक्षण गरिरहेको एउटा समूह पनि छ । आर्थिक प्रलोभनमा नपरी पुराना सामग्री र सीपको संरक्षण गर्नेहरूको समूह गुल्मीको रिडीमा लागेको माघी मेलामा भेटिएको हो ।

गुल्मीको रिडीमा लागेको माघी मेलामा परम्परागत सीपको प्रयोग गरेर बनाइएका सामग्री बेच्न कर्णाली प्रदेशको जुम्ला र गण्डकी प्रदेशको बागलुङबाट आउनुभएको छ ।

आर्थिक आम्दानीका हिसाबले आवतजावतको खर्च पनि जोहो नहुने भन्दै रिडीमा आउनुभएका उहाँहरूले परम्परागत सीप र पेसाको संरक्षण गरेको बताउनुहुन्छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजाबाट भेडाको ऊन प्रयोग गरेर बनेका राडीपाखीको बिक्रीका लागि आउनुभएका गोरे कार्कीले आफु आम्दानीको लागि मात्र नआएको बताउनुभयो ।

“सामान बिक्रीको हिसाब गर्ने हो भने सीपको मुल्य त परको कुरा आउने जाने खर्चको पनि राम्रोसँग जोहो हुन्न”, कार्कीले भन्नुभयो, “हामीले पुरानो पेशा र सीपको संरक्षण गरेका हौं ।” कार्कीले रिडीसँग आफ्नो सम्बन्ध ३० वर्ष अगाडि देखि रहेको बताउनुभयो ।

सोही ठाउँबाट आउनुभएका पदम बहादुर हमालले ५ दिनको समय खर्चेर गुल्मीको रिडीमा आएको सम्झनुभयो । जुम्लाको समान भनेपछि यहाँका स्थानीयले धेरै माया गर्ने र सम्मान गर्ने भएकोले नाफाघाटाको हिसाब नहुने हमालले बताउनुभयो ।

“कालीगण्डकीमा स्नान गर्न पाउनु सौभाग्य ठानेका छौं”, बगिरहेको नदी देखाउँदै उहाँले भन्नुभयो, “पुण्य कर्मसँगै लोप हुन लागेको पेशा र सीप सम्झाइरहेका छौं ।” लोप हुने डरले पछिल्लो पुस्तालाई चिनाउन आफुहरु राडीपाखी लिएर गुल्मी सम्म आउने गरेको हमालको भनाइ छ ।

बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाबाट रिडीमा आउनुभएका शशिराम विश्वकर्माले पनि मूल्यको हिसाब गरेमा आफूहरू घाटामा जाने बताउनुहुन्छ । बाँस र चोयाबाट बनेका डोको, डालो, सुपो, काँइयो र मान्द्रा लिएर बिक्रीका लागि आउनुभएका शशिरामले पुरानो पेसाको संरक्षण भएको बताउनुभयो ।

“बाँस र चोयाबाट बनाएका यी सामग्रीले समय र सीपको मूल्य उठ्दैन”, बिक्रीका लागि राखिएका सामग्री देखाउँदै उहाँले भन्नुभयो, “सीपले ठाउँ पाएको छ, पेसाको संरक्षण भएको छ ।” पछिल्लो पुस्तामा सीप हस्तान्तरण गर्न नसकिएकामा ६६ वर्षीय शशिरामले चिन्ता व्यक्त गर्नुभयो ।

रिडीमा जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट २० जनाभन्दा बढीको समूह भेडाको ऊनबाट बनेका राडीपाखीका सामग्री, बागलुङको वडिगाड गाउँपालिकाबाट एक सयभन्दा बढी बाँस र चोयाबाट बनेका सामग्री र रुकुमपूर्वको पुथा उत्तरगङ्गाबाट ३५ जनाको समूह ऊनबाट बनेका काम्ला, गलैँचा र राडीपाखी बिक्रीका लागि आउनुभएको छ ।

आफ्नै सीपको प्रयोग गरेर वर्षभर बनाइएका सामग्री बेच्न टाढा–टाढाबाट आउनुभएका उहाँहरूले नाफा–नोक्सानको हिसाब नगरेको बताउनुहुन्छ ।

नेपालका चार धाममध्ये एक रुरुक्षेत्र धाम रिडीमा स्नान गरेर प्रफुल्लित हुनुभएका उहाँहरूले पुरानो शैलीका सामग्री नयाँ पुस्तालाई देखाउन पाएकामा खुसी हुनुहुन्छ ।

मेलाको आयोजक रुरु फ्रेण्ड क्लबले पनि त्यस्ता सामग्री बिक्री मात्र नभई प्रदर्शन गरेर मेला आकर्षक भएकाले खाने–बस्नेको व्यवस्था गरिदिएको क्लबलका अध्यक्ष सुदीप थापाले बताउनुभयो ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले माघी मेला सङ्कटापन्न पेसा र साम्रगीको प्रदर्शनले रौनक थपेकाले उहाँहरूलाई सहजीकरण गरिएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया