बनेपामा राष्ट्रिय भजन सम्मेलन सुरु

  पुष २३, २०७९

काभ्रेपलाञ्चोक,पुस २३ : बनेपामा तीनदिने राष्ट्रिय भजन सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलनमा देशभरका एक सय २५ ज्ञानमाला भजन खलःको सहभागिता रहेको नेपाल राष्ट्रिय ज्ञानमाला समितिले जनाएको छ ।

समितिले आफ्नो १०औँ राष्ट्रिय ज्ञानमाला भजन सम्मेलन ‘बुद्धको उपदेश अनशुरण गरौँ, चित्तलाई हामी परिशुद्ध गरौँ’ भन्ने मूल नाराका साथ सम्मेलनको आयोजना गरिएको केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा बुद्ध पूजा, पञ्चशील प्रार्थना, ज्ञानमाला शान्ति पदयात्रा, बृहत् ज्ञानमाला भजन कार्यक्रम, अभिनन्दन तथा ज्येष्ठ नागरिक सम्मानसँगै नयाँ कार्यसमितिको चयनसमेत गरिने छ ।

सम्मेलनको अखिल नेपाल भिक्षु महासङ्घका भन्ते फ्राखु विशाल धम्मशोभन महास्थवीरले आज एक कार्यक्रमका बीच उद्घाटन गर्दै शान्ति नै मन, वचन, कर्म र समृद्धिको पर्याय बनेको बताउनुभयो ।

सम्मेलन उद्घाटनपछि श्रद्धालु तथा भजन खलः समूहका प्रतिनिधि सम्मिलित सदस्यबाट ज्ञानमाला शान्ति पदयात्राले बनेपा नगरको पुरानो बजारसहित क्षेत्रमा परिक्रमा गरेको थियो । शान्ति पदयात्रापश्चात झण्डोलोत्तन गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गौतमबुद्धले सम्पूर्ण सुख त्यागेर प्रतिपादन गरेको शान्तिलाई बुद्धको देश भनी चिनाउने उद्देश्य नै परिपूर्ण भएको बताउनुभयो ।

शान्तिका प्रतीक भगवान् बुद्धद्वारा प्रतिपादन भएका सत्य, अहिंसा, मैत्री करुणा, शील समाधि, प्रज्ञाका जीवनोपयोगी अमूल्य शश्वत उपदेशलाई सर्वव्यापक ढङ्गबाट उजागार गर्न तथा सम्प्रेषण गर्ने, गराउने आफूले बुझ्ने, अनुशरण गर्ने गराउने, सत्कार्यमा उन्मुखबारे वाचन भइरहेको छ । काभ्रेपलाञ्चोकस्थित बनेपाको वाङ्ख्य ज्ञानमाला भजन खलःले सम्मेलनको व्यवस्थापन गरेको हो ।

सम्मेलनमा ७५ भजन खलःले भजन प्रस्तुत गर्ने कार्यक्रम छ । आज विभिन जिल्लाका २५ भजन समूहले आ–आफ्ना प्रस्तुति गरेका छन् भने एक भजन समूहमा छ देखि १० जनाको प्रस्तुति थियो । यस्तै एक सय २५ वटा भजन खलःका चार–चार प्रतिनिधिको सम्मेलनमा सहभागिता छ ।

विसं १९९४ मा धम्मालोक भन्ते तथा अमृतानन्द भन्तेहरूले स्वयम्भूमा ज्ञानमाला भजन खलः स्थापना गरेर सुरु भएको अभियान देशभर फैलिएको छ ।

विसं २०५१ चैत १८ मा नेपाल राष्ट्रिय ज्ञानमाला समितिको स्थापना भएको हो । बदलिँदो समाज, युवापुस्तामा घट्दै गएको धर्म र संस्कृतिप्रतिको चाहनालाई बढावा दिँदै भगवान् बुद्धले बहुजन हिताय बहुजन सुखायको निम्ति देशना गर्नुभएको शील सदाचारयुक्त मानव कल्याणकारी धर्म तथा बुद्ध शिक्षालाई सहज, सशक्त तथा प्रभावकारी ढङ्गबाट जनमानसलाई प्रचार–प्रसार गरेर समाजमा सुख, शान्ति कायम गर्ने ज्ञानमाला भजन खलःको प्रमुख उद्देश्य रहेको छ । काभ्रेपलाञ्चोकमा छ वटा ज्ञानमाला खलः छन् । सम्मेलन सोमबारसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया