काठमाडौँ, पुस १० (रासस) : बङ्गलादेशमा जारी बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल पराजित भएको छ ।
ढाकामा भएको खेलमा नेपाललाई आयोजक बङ्गलादेशले ०–३ को सोझो सेटमा हराएको हो । बङ्गलादेशले नेपाललाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१३ ले हराएको हो ।
अब बङ्गलादेशले उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । पराजित नेपालले भने अब तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।