भक्तपुर, पुस ५ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उहाँले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “खेलकुद क्षेत्रलाई राजनीतिसँग पनि अलग गर्न हुँदैन, समाजवादी देश क्युवाले खेलकुदमा धेरै प्रगति गरेको उदाहरण हामी सामु छ । स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडी खेलकुदमा सहभागी हुनुपर्छ ।” उहाँले विद्यालय तहदेखि नै विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नसके राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसअवसरमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालय जीवनमा पढाइ सँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण रहने बताउँदै खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले वास्तविक प्रजातन्त्र उपभोग गर्न शिक्षा, स्वास्थ्य र खेलकुदलाई विद्यार्थीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री तयार गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउँदै खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उल्लेख गर्नुभयो ।
उहाँले खेलकुद विकासको लागि भक्तपुर नपा वडा नं ९ र ८ लिबालीमा खेलकुद कभर्ड हल निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको बताउँदै हाल भनपा–१० मा बेखाल कभर्ड हल निर्माणाधीन अवस्थामा रहेको र माहेश्वरी खेलमैदान तथा शहीद स्मृति खेलमैदान निर्माण प्रक्रियामै रहेको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टनरजिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ खेलका लागि प्रतिस्पर्धा हुने बताउनुभयो ।
त्यसअघि आजै नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायतको सहभागितामा दत्तात्रयबाट सुरु भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै शहीद स्मृति खेलमैदानमा पुगेर उद्घाटन सत्रमा परिणत भएको थियो ।