मेयर कपको उपाधि रत्ननगरलाई

  पुष ०२, २०७९

भरतपुर,पुस २ : चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो ।

उपाधिसँगै रत्ननगरले एक लाख एक हजार ११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको माडी नगरपालिकाले रु ५५ हजार पाँच सय ५५ पुरस्कार पाएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कारले विजयी टिमलाई शिल्ड तथा मेडल प्रदान गर्नुभयो ।

रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गर्नुभएको थियो । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्नुभएका श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । उहाँले रु दुई हजार पाँच सय नगद पुरस्कार पाउनुभएको छ । प्रतियोगितामा जिल्लाका सात पालिकाका सात टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भुजेलले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी सूर्यमान श्रेष्ठ, लेखनाथ घिमिरे, ललित थापा तथा बङ्गलादेशमा उत्कृष्ट खेल प्रदर्शन गरेका रत्ननगरका खेलाडी सुजता तामाङ र सुशीला केसीलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया