खुला ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहलाई उपाधि

  पुष ०२, २०७९

सिद्धार्थनगर, पुस २ : भैरहवामा सम्पन्न जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । आज लुम्बिनी राष्ट्रिय महोत्सव सञ्चालनस्थल भैरहवामा आयोजित फाइनल खेलमा विञ्जन बस्नेत र नारायण पौडेलको समूहले लाफा समूहकै पुरन गाहा र पुरन श्रीसको टोलीलाई पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेलमा बस्नेत र पौडेलको टिमले २१-१९ र २१-१५ को सोझो सेटमा गाहा र श्रीसको टिमलाई हराउँदै उपाधि जितेको हो । उपाधिसँगै विजेता टिमले नगद रु १५ हजार, उपविजेताले रु १० हजार प्राप्त गरे ।

प्रतियोगितामा तामनगर ब्याडमिन्टन क्लबका केशव तिवारी र मदन सुवेदी तथा तामनगरकै सुभाष कर्माचार्य र रामजी न्यौपानेको टिमले तृतीय स्थान हासिल गरी नगद रु पाँच हजार प्राप्त गरे ।

विजयी खेलाडीलाई नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य सङ्घले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा जिल्लाका १५ टिमको सहभागिता रहेको थियो ।

प्लाष्टिकजन्य पदार्थ नजलाउनु नगरपालिकाको आग्रह

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)ले प्लाष्टिकजन्य पदार्थमा आगो नलागउन आग्रह गरेको छ । वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तायक अहमद खाँले जानकारी दिनुभयो ।

पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदूषित हुन्छ । खाँले भन्नुभयो, “यसको रोकथामका लागि नगरपालिकाले थालनी गरेको छ ।” प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिकित्सक बताउँछन् ।

“प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदूषित भई जनस्वास्थ्य असर परेको हँुदा उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भन्नुभयो, “अटेर गरेमा कारबाही गर्छौँ”, भारतीय सीमा क्षेत्रबाट पैदलमार्गमार्फत् नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने यो नगरलाई हरियाली र सुन्दर बनाउने अभियानमा सिद्धार्थनगर नगरपालिकाले अभियान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया