काठमाडौँ,पुस १ : देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखालादगायतले स्वास्थ्यमा समस्या देखिन्छ ।
डा अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या देखिन्छ । उहाँका अनुसार सुख्खा हावाका कारण आखाँ, छाला र नाकमा समस्या देखिन सक्छ । जाडोयाममा शरीरलाई चिसोबाट बचाउनु नै रोगबाट टाढा राख्ने पहिलो उपाय भएको अधिकारीको भनाइ छ ।
“अधिकांश समय कोठाको तापक्रम २६ डिग्री राख्न उपयुक्त हुन्छ । तापक्रमसँगै हावाको आद्रताको पनि विशेष ख्याल राख्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “नाक, कान, औँलाको चुच्चो संवेदेनशिल हुन्छन् त्यसैले चिसो पानी प्रयोग कमै गर्नुपर्छ, भिडभाडमा हिँड्दा माक्सको प्रयोग गरे यस्ता समस्याबाट बच्न सकिन्छ ।”
चिकित्सकका अनुसार चिसोमा छालासम्बन्धी समस्याबाट बच्न मोस्चराइजर र जेलयुक्त क्रिमको प्रयोग गर्न सकिन्छ । यस्तै, नाक सुख्खा हुने समस्या भएमा कोठामा खाली भाँडोमा पानी राख्दा आद्रता सन्तुलन हुने गर्छ ।
बालबालिका र दीर्घरोगीको ख्याल राख्नपर्छ
चिकित्सका अनुसार जाडोयाममा बालबालिकामा रोटा भाइरसको जोखिम हुन्छ । डा अधिकारी भन्नुहुन्छ, “रोटा भाइरसले विशेषतः बालबालिकामा झाडापखाला र वान्ताको समस्या धेरै देखिन्छ । स्कुले बालबालिकामा यो भाइरस छिटो सर्न सक्छ ।” स्वच्छ खानेपानीको प्रयोग नै यस भाइरसबाट बच्ने मुख्य उपाय हो । यस्तै बालबालिकालाई मौसमी फलफुल दिँदा सफा पानीले पखालेर मात्र दिनुपर्छ । स्वस्थ्यकर खानपानमा ध्यान दिनुपर्छ ।
जाडो महिनामा मधुमेह र दम जस्ता दीर्घरोगीको विशेष ख्याल राख्नुपर्ने चिकित्सक बताउँछन् । डा दिपक मल्ल चिसोयाममा मधुमेहका बिरामीलाई विशेष सचेत हुन आग्रह गर्नुहुन्छ । “मधुमेहका बिरामीले हिटर र आगो ताप्नु हुँदैन् । उहाँहरुको छाला पातलो हुन्छ । धेरै तापक्रमले छाला पोल्ने र घाउ बनाउने जोखिम धेरै हुन्छ ।”
जाडोयाममा ‘मर्निङवाक’ घातक
डा मल्ल मधुमेहका बिरामीलाई चिसोमा घाम झुल्किनु अघि मर्निङवाकमा नजान सुझाव दिनुहुन्छ । “बिहान तापक्रम एकदमै कम हुन्छ, त्यसमाथि खाली पेटमा हिँड्नु घातक साबित हुन सक्छ ।” डा अधिकारी पनि मर्निङवाक गर्दा चिसोमा सुख्खा हावाका कारण स्वासप्रश्वासको समस्या बढन् सक्ने बताउनुहुन्छ ।
“नाकमुख ढप्प पारेर हिँड्दा वरपर ध्यान नपुग्न सक्छ । यसबाट दुर्घटनाको जोखिम समते बढ्छ”, उहाँले भन्नुभयो । यसको विकल्पमा घरभित्रै शारिरीक व्यायाम गर्ने वा घाम लागेपछि बाहिर निस्किन डा अधिकारी सुझाव दिनुहुन्छ ।
चिसोमा न्यानो कपडा र खानाको प्रयोग गर्नुपर्छ । एउटा मात्र बाक्लो लुगाको सट्टा पातला लुगा एकमाथि अर्को लगाउँदा हावा छेक्न सक्छ ।
फलफूलले चिसो लाग्छ भन्नु खानाप्रतिको भ्रम
जाडोयाममा शरीरको तापक्रम मिलाउन खानाको विशेष भूमिका हुन्छ । पोषणविद् डा उमा निरौला भन्नुहुन्छ, “ जाडोयाममा शरीरको काम बढ्छ, त्यसैले बाहिरको तापक्रम चिसो हुँदा शरीरले बढी ताप निकाल्नुपर्ने हुन्छ । ताप निकाल्नका लागि खानाको आवश्यकता पर्छ ।
“जाडोयाममा प्रशोधन नगरिएका खाना खानुपर्छ । पोसिलो र उच्च गुणस्तरको कार्बोहाइडेट, फाइबर र प्रोटिनयुक्त खाना खानुपर्छ”, डा निरौलाले भन्नुभयो । फापर, मकै, कोदो, गेडागुडी, सखरखण्ड, आलु, पिँडालु, गहत, सिमी, भट्मासलगायत खानुपर्छ ।
जाडोमा मौसमी फलफुल खाँदा रुघाखोकी लाग्छ भन्ने कुरा खानाप्रतिको भ्रम हो । मौसमी फलफुल त्यसमा पनि अमिलो फलफुल बढी मात्रामा खानुपर्छ । यी खानाले भाइरसँग लड्न सजिलो हुन्छ । चिया कफीको लत नबनाउन डा निरौलाको सुझाव छ ।
शारीरिक परिश्रम कम गर्ने ३० वर्ष माथिका उमेर समूहका व्यक्तिले चिनीको प्रयोग गर्न नहुने उहाँको सुझाव छ । खानामा चिल्लो पदार्थ पनि उत्तिकै आवश्यक हुन्छ । हिमाली र उच्च पहाडी भूभागमा तापक्रम बढी दिने खानाको प्रयोग गर्नुपर्छ । हिमाली भेगमा चियामा घिउ हालेर खाने चलन छ । घिउलगायत चिल्लो पदार्थले तापक्रम बढाउन मद्दत गर्ने चिकित्सक बताउँछन् ।